जनार्दन,अनन्त र नारायणकाजीहरु माओवादी एकताको पक्षमा देखिएनन्ः विषम सी

बसन्त विक

२६ साउन,बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले माओवादी केन्द्र भित्र जनार्धन शर्मा,अनन्त र नारायणकाजी श्रेष्ठ माओवादी एकताको पक्षमा नदेखिएको खुलासा गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी बाँके जिल्लाको दोस्रो पूर्ण बैठकलाई शनिवार कोहलपुरमा सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले यस्तो खुलासा गर्नु भएको हो ।

स्थायी समिति सदस्य विषमले भन्नु भयो ‘जनार्दन शर्मा,अनन्त र नारायकाजीहरु एकताको विरुद्ध जस्तो देखिएका छन, तल्लो तहमा र अरु नेताहरुमा माओवादी एकताको दबाव चर्को छ, माओवादीहरु एकता हुन नदिने डिजाईन साम्राज्यवादको हो । यो डिजाईनमा माओवादीहरु पर्नु हुदैन,यसमा हामी सबै माओवादीहरुले बुझनु पर्छ र एकतालाई जोडदिनु पर्छ ।’

उहाँले माओवादी घटक तथा वामपन्थी कम्युनिष्ट शक्तिहरु बिचको एकता हुन नदिने मुख्य षड्यन्त्र साम्राज्यवादले गरेको पनि दाबी गर्नु भयो ।
‘नेपालमा माओवादी कम्युनिष्ट शक्तिहरु बिचको ध्रुवीकरण जरुरी छ, तर अमेरिकी साम्राज्यवादले एकता हुन नदिने चलखेल गरेको छ’ उहाँले भन्नु भयो ।

उहाँले नेकपा माओवादी केन्द्र भित्रैबाट जनार्दन शर्मा,अनन्त र नारायकाजीहरु समेत माओवादी एकताको प्रस्तावमा खास्सै सकरात्मक हुन नसक्न दुखत भएको बताउनु भयो ।

उहाँले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा साम्राज्यवादी र युरोपियन युनियनहरु लागेको आरोप लगाउदै प्रचण्डको सरकार ढाल्ने खेलमा माओवादी भित्रैबाट पनि एउटा टिम लागेको जिकिर गर्नु भयो ।

उहाँले अहिलेको गठबन्धन प्रतिगामी दिशामा जान खोजेको बताउदै भन्नु भयो ‘अहिलेको गठबन्धन त्यति राम्रो होईन, मुख्यगरी यो गठबन्धन साम्राज्यवादले आफ्ना अस्सली दलाल खडा गर्न बनाएको हो । त्यसका लागि संविधान संशोधन गरी सामानुपातिक प्रणाली हटाउने र राष्ट्रिय दल बन्ने थ्रेस होल्ड बढाउने कांग्रेस एमालेको दाउ छ । यो दाउ भनेको नेपालमा एमसीसी र एसपीपी कार्यान्वयन गर्ने र नेपाललाई रणमैदान बनाउने भित्र केन्द्रीत छ ।’

‘भारत,बेलायत र अमेरिका जस्तो देशमा ठुला दलहरुले मात्र सत्ता कव्जा गर्ने २ पार्टी सिस्टम छ, त्यो सिस्टम नेपालमा लागु गर्न कांग्रेस एमालेले खोजेका छन’ उहाँले भन्नु भयो , ‘यो नेपालको लागि कुनै पनि हालतमा हुन सक्दैन, नेपालमा एमाले साम्राज्यवादी दबावले प्रतिगामी दिशातिर जान खोजेको छ, तर सवै पार्टी भित्र अन्तरविरोध छ, अहिलको गठबन्धन सरकारमा कांग्रेस भित्रै र एमाले भित्र पनि असन्तुष्टि देखिएका छन ।’

उहाँले पार्टीलाई जनतासंग जोडनका लागि विशेष ध्यान दिन आग्रह गर्नु भयो । नेता विषमले बाँके जस्तो जिल्लामा आर्थिक विषयलाई मात्र केन्द्रविन्दु नबनाई संगठन निर्माणमा विशेष ध्यान दिन सुझाव दिनु भयो ।

बैठकमा नेकपाका पिविएम तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सी, केन्द्रीय सदस्य शेखर सी र नारायण सीले पनि मन्तव्य राख्दै पार्टीलाई जनतातिर फर्काउनु पर्नेमा जोड दिनु भएको थियो । नेकपा बाँकेका जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस