२५ कार्तिक,कालिकोट । जिल्लाको पलाता गाउँपालिका– ३ राडुनेटामा आईतवार भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटना स्थलमा ६ जना र उपचारका क्रममा १ जना गरी ७ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार दुर्घटना स्थलमा मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाता–५ की छाया शाही र पलाता–३ का दमन रोकाया छन् ।
यस्तै प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा सल्यानका ४५ वर्षीय जिप चालक धनिराम रावतको पनि मृत्यु भएको छ । दुर्घटनाका घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएकोमा उपचारको क्रममा आइतबार साँझ रावतको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया,भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक, आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दानबहादुर, निर्मला, जगत दोली र आयुशाको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
कर्णाली करिडोर हुँदै घाटाचौरसम्म सडक संचालन भए पनि थ्रिपु हुदै पलाता जोड्ने कर्णाली नदीमा पुल बनेको छैन । पुल नहुँदा दुई वर्षअघि डिजेल र पेटोल राख्ने ड्रमलाई काठमा डोरीले बाधेर त्यसैमाथि बोलेरो जिप राखेर नदी तारेर थिर्पू गाडी लगिएको थियो । त्यहीबाट पलाताको थिर्पूबाट धौलागोहसम्म जिपले यात्रु ओसारपसार गर्ने गरेको थियो ।
जिपले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । ’कच्ची ग्रामीण सडकमा क्षमताभन्दा तेब्बर लोड हालेपछि दुर्घटना हुने नै भयो,’ घटनास्थल पुगेका डीएसपी रावतले भन्नु भयो, ’अरु कारण भन्दा पनि सरासर ओभरलोड देखिन्छ ।’ ५ जना यात्रु क्षमताको जिपमा २० जनाले यात्रा गरिरहेका थिए ।