२७ गते सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव


२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सामू कार्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नु भएको छ । तर ओलीले सहमति जनाउनु भएको छैन् ।
प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरेका थिए । पाँच नेताको जोड २३ वा २४ मा बैठक बोलाउने थियो ।
२५ गतेसम्म पनि बैठक बोलाउने सुरसार नदेखेपछि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीसँग छलफल गर्नु भएको छ । छिट्टोभन्दा छिटो बैठक बोलाउनुको विकल्प नभएको प्रचण्डको जोड छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २६ गते प्रधानमन्त्री उपत्यका बाहिर जाने कार्यक्रम भएकाले २७ गते सचिवालय बैठक बोलाउने सहमति दिन र बैठकमा आउन प्रचण्डले प्रस्ताव गर्नु भएको छ । उहाँले भन्नु भयो , ‘आजको छलफलमा पनि अध्यक्ष कमरेड केपी शर्मा ओलीले २७ गते बैठक बस्न सहमति जनाइसक्नु भएको छैन ।’
बालुवाटारको भेट लगतै प्रचण्ड धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेर बैठक माग गर्ने चार नेताहरुसँग अनौपचारिक छलफल गर्नु भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भन्नु भयो , ‘हामी अपेक्षा गर्छौ कि उहाँले अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नु भए अनुसार बैठक वोलाउन सहमति जनाउनु हुनेछ र सहमतिकै आधारमा बैठक बस्ने छ ।’
बैठकका लागि प्रधानमन्त्रीले सहमति दिनु भएन भने के हुन्छ भन्ने प्रश्नले संकटको विशिष्ट परिस्थितिमा धर्यका साथ सहमतिमै बैठक बस्न प्रयत्न गरिरहेको बताउनु भयो । उहाँले अघि भन्नु भयो , ‘यो कमजोरी होइन, बरु पार्टी एकतालाई बचाउँदै सहमतिमा बैठक बसेर पार्टी एकता रक्षा गर्ने र पार्टीर्का निर्णयहरु कार्यान्वयन गराउने दिशामा अगाडि बढ्ने प्रयत्न हो ।’
२७ गते पनि सचिवालय बैठक बसेन भने के गर्ने भनेर आफूहरुले नसोचेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस