भ्रष्टाचारीलाई सर्वस्व सहित जन्मकैदको सजाय गरिनु पर्छः प्रेम सी

२७ पुस,परासी । नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा समाजवादी जागरण अभियान पश्चिम कमाण्डका कमाण्डर प्रेम सीले भ्रष्टाचारीहरुलाई सर्वस्व सहित जन्मकैदको सजाय हुनु पर्ने बताउनु भएको छ ।
समाजवादी जागरण अभियानका क्रममा आईतवार परासी जिल्लाको बर्दघाट बजारमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता प्रेम सीले भ्रष्टाचारीहरुलाई सर्वस्व सहित जन्मकैदको सजायको व्यवस्था बनाइनु पर्ने बताउनु भएको हो ।
उहाँले तत्कालिन राजनीतिक संकटको निकासका लागि माओवादी पार्टीले पुस ९ गते राष्ट्रपति रामचन्द पौडेललाई १३ बुँदे मागहरु पेश गरेको जानकारी दिनु भयो ।
नेता प्रेम सीले आफ्नो पार्टीले १३ बुँदे राखेका मागहरुमा भ्रष्टाचार नियन्त्रण गर्न उच्च स्तरिय नागरिक छानविन आयोग बन्नुपर्ने, उच्च स्तरिय न्यायलय गठन गरिनु पर्ने, र भ्रष्टहरुको सम्पत्ति राष्ट्रियकरण गरी उनीहरुमाथि सर्वस्व सहित जन्मकैदको व्यवस्था गरिनु पर्ने माग गरेको बताउनु भयो । उहाँले कालोधनलाई नियन्त्रण गर्न ५ सय र १ हजारका नोटहरु बन्द गर्नुपर्ने पनि बताउनु भयो ।
‘हामीले अहिलेको संकटको निकासको लागि सुशिला कार्की नेतृत्वको अमेरिकी कठपुतली सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ, संविधानको पूर्नलेखनको माग गरेको छ, सुकुम्वासीहरुलाई निशुल्क जमिन वितरणको माग गरेको छ, एमसीसी जस्ता राष्ट्राघाती संन्धी सम्झौता खारेजको माग गरेको छ’ नेता प्रेम सीले भन्नु भयो ।
नेता प्रेम सीले नेपालमा साम्राज्यवादको हस्तक्षेप अन्त्य नभएसम्म स्वाधीन नेपाल हुन नसक्ने र देश स्वाधीन नहुदासम्म समृद्धि नहुने ठोकुवा गर्नु भयो ।
यसअघि परासी जिल्लाको आमवासीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता प्रेम सीले हिजो देश सर्पको मुखमा भएको र अहिले देश अजिङगरको मुखमा पुगेको टिप्पणी गर्नु भयो ।
उहाँले नेपाली जनताको अधिकारका लागि नेपाली विशेषताको समाजवादको विकल्प नभएको स्पष्ट पार्नु भयो । नेता प्रेमले जनतालाई एकपटक माओवादीलाई गुलाफ चिन्हमा मतदान गरेर जिताउन पनि विशेष अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस