दलित केटासँग लागेको भन्दै आमा द्धारा छोरीको हत्या


२७ पुस, वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर आयो । प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सोहीअनुसार सम्प्रेषण गरे ।
तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुलेको छ ।
सुरुमा प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि भित्र माना कुमारीको शव भेटियो । उनी निदाएकै अवस्थामा जलेर मरेको भन्ने दाबी परिवारजनले गरे । तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका गरे ।
घटना शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले वताउनु भयो । ‘पहिला भित्र मानिस छ भनेर कसैले भनेन, आगो निभाउन मात्रै केन्द्रित भयौं । पछि भित्र शव भेटियो भन्ने खबर आयो,’ उहाले भन्नु भयो , ‘घटनास्थल पुगेर हेर्दा तल खाटमात्रै जलेको देखियो, खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखिन्थ्यो । घटना शंकास्पद लागेपछि अनुसन्धान सुरु ग¥यौं ।’
छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल हुनुहन्थ्यो । छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बल पुग्यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुल्यो ।
मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताउनु भएको छ ।
लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गर्नु भयो । लालमतीका श्रीमान मनाबोध फरार हुनु हन्छ । उहाको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उहा पुर्पक्षका लागि कारागारमा हुनुहन्छ ।

 

प्रतिक्रिया दिनुहोस