कालिकोटका सबै स्थानीय तह निमित्तका भरमा


२८ माघ, कालिकोट । कालिकोटका नौवटै स्थानीय तह निमित्तका भरमा चलेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले काम चलाइरहेका छन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायत अन्य विभागका कर्मचारीले कालिकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका हुन् ।

उपसचिवको दरबन्दी रहेको रास्कोट नगरपालिकामा पशुसेवाका आठौं तहका प्राविधिक कर्मचारी जवानसिंह बम, खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारी जसीप्रसाद चौलागाईं र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौं तहका कर्मचारी लक्ष्मणप्रसाद चौलागाईंलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, पलाँतामा छैटौं तहका कर्मसिंह बम, सान्नी त्रिवेणीमा छैटौं तहका नेत्रबहादुर शाही, शुभकालिकामा छैटौं तहका केन्द्रबहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । उहाँहरु पशु सेवा प्राविधिकतर्फका अधिकृत हुनुहुन्छ् ।

पचाल झरनामा प्रशासनतर्फका अधिकृत वीरेन्द्रवहादुर बम र नरहरिनाथमा अधिकृत गणेशमान सिंहलाई जिम्मेवारी तोकिएको छ । कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह सञ्चालन गर्नु परेको शुभकालिका गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईंले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि नआउँदा विकास निर्माणमा काममा असर पर्ने भएकाले निमित्त भरमा लामो समयदेखि काम गर्दै आएको रास्कोट नगर प्रमुख काशीचन्द बरालले जानकारी दिनु भयो । राससवाट

प्रतिक्रिया दिनुहोस