२७ फागुन, काठमाडौं । चार दलिय समाजवादी मोर्चा नेपालले राजावादीका गतिविधि स्वीकार्य नभएको भन्दै प्रतिवाद गर्न सबैमा आहवान गरेको छ ।
मंगलवार काठमाडौंमा बसेको मोर्चाको बैठकले राजतन्त्रका पक्षमा भइरहेका गतिविधिहरुलाई आपत्तिजनक ठहर गर्दै सशक्त प्रतिवाद गर्न सबैमा आहवान गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले समाजवादी मोर्चाका निम्ति राजावादीहरुका गतिविधिहरु सैह्य नभएको बैठकले निश्कर्ष निकालेको भन्दै राजावादीहरुका गतिविधिहरु प्रतिक्रान्तिकारी हर्कत भएको जानकारी दिनु भयो ।
‘समाजवादी मोर्चाको निम्ति यो सैह्य छैन । नेपालका कम्युनिस्ट र वामपन्थीका लागि यो सैह्य छैन,’ सचिवालय सदस्य प्रकाण्डले भन्नु भयो , ‘प्रतिक्रान्तिकारी हर्कत भनेको देश र जनताको लागि दुर्दशाको हर्कत हो । यसलाई सशक्त रुपमा प्रतिवाद गर्नका लागि अपिल गर्नुपर्छ ।’
पछिल्ला दिनमा भइरहेका गतिविधिबारे मोर्चाको बैठकमा गम्भीर छलफल भएको उहाँले बताउनु भयो ।
सचिवालय सदस्य प्रकाण्डले भन्नु भयो,‘नेपाली जनताले तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनः ल्याउनेगरी जस्तो हर्कत भइरहेको छ, यो आफैंमा भयंकर आपत्तिजनक कुरा छ । देशलाई प्रतिगमनतर्फ लाने जुन हर्कत भइरहेको छ, यो स्वीकार्य छैन ।’
उहाँले प्रतिक्रान्तिकारी हर्कत विरुद्ध प्रतिवाद गर्नका लागि देशका विभिन्न दल, नागरिक समाज, वुद्धिजीवी र पत्रकारहरूसँग आवश्यक छलफल अघि बढाउने निर्णय पनि गरेको बताउनु भयो ।
२५ फागुनमा भएको राजावादीहरूको प्रदर्शनले आफूहरू डराएको नभइ सिरियस भएको समाजवादी मोर्चाका दलहरूको भनाइ छ ।
सचिवालय सदस्य प्रकाण्डले भन्नु भयो,‘आत्तिएको होइन । डराएको पनि होइन । तर, सिरियस भएको हो । गणतन्त्रविरुद्धका तानाबाना बुन्दा हामीलाई चिन्ताभाव भएको हो । आक्रोश पनि छ । सशक्त प्रतिवाद गर्ने सोचाइ पनि छ ।’
गणतन्त्रको बलियो आधारबाट आतंकित भएर यस्ता कार्यहरू भएको समाजवादी मोर्चाको भनाइ छ ।
गणतन्त्रका विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निष्कर्ष निकाल्दै यसका विरुद्धमा आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने कार्यक्रम तय भएको पनि सचिवालय सदस्य प्रकाण्डले जानकारी दिनु भयो ।
‘नेपाली जनताले तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनः ल्याउनेगरी जस्तो हर्कत भइरहेको छ, यो आफैंमा भयंकर आपत्तिजनक कुरा छ । देशलाई प्रतिगमनतर्फ लाने जुन हर्कत भइरहेको छ, यो स्वीकार्य छैन,’ सचिवालय सदस्य प्रकाण्डले भन्नु भयो ।