दैलेखमा मिनीबस दुर्घटना, दुईजनाको मृत्यु, १६ घाइते

२७ फागुन ,कालिकोट ।  कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुर्घटनामा १६ जना घाइते भएका छन् ।
बिहीबार कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनु भयो ।
बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।
बसमा तीनजना प्रहरी पनि सवार रहेकोमा प्रहरी जवान रमेश चौधरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ भने अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस