अबको लक्ष्य पार्टी अध्यक्ष बन्ने होः पूर्व राष्ट्रपति भण्डारी

२७ असार, काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको बताउनु भएको छ ।
बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उहाँले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको बताउनु भएको हो ।
पूर्व राष्ट्रपति भण्डारीले आफूलाई अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने पनि बताउनु भएको छ ।
उहाँले आफूले सरकारी सेवा–सुविधा परित्याग गरेको जानकारी दिँदै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको उद्घोष गर्नु भयो ।
‘व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्क्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ,’ उहाँले भन्नु भयो ।
उहाँले केही साताअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नु भएको थियो । त्यसयता उहाँको राजनीति सक्रियताबारे चर्चा परिचर्चा हुँदै आएकोमा भण्डारीले आगामी योजनाबारे खुलेर कुराकानी गर्नु भएको हो ।
राजनीतिमा फर्किँदै गर्दा भण्डारीले आफ्नो प्राथमिकतामा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि, रोजगारीका माध्यमबाट अर्थतन्त्रको सबलीकरण, शिक्षा तथा स्वास्थ्यको गुणस्तर वृद्धि र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीसहितका विषय रहेको बताउनु भयो ।
पत्रकार खरेलले ‘यो सबै गर्नका लागि तपाईँलाई एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधिएको प्रश्नमा उहाँले ‘हो’ भन्ने स्पष्ट जवाफ दिनु भयो ।
हालका अध्यक्ष केपी शर्मा ओलीबारे बोल्दै भण्डारीले दुई कार्यकाल अध्यक्ष भइसक्नु भएका उहाँ दोहोरिएर नेतृत्वमा नआउने विश्वास व्यक्त गर्नु भयो । ‘मैले चिनेको केपी ओली त्यस्तो होइन,’ उहाँले भन्नु भयो ।
पार्टीभित्र विगतमा देखिएको विभाजन र गुटबन्दी स्वीकार गर्दै उहाँले त्यसलाई अब समाधान गरी एमालेलाई थप सुदृढ बनाउने अठोट व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस