२४ असोज,बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धलाई अपराधिकरण गर्न खोजे अर्को जनयुद्ध हुने चेतावनी दिनु भएको छ ।
समाजवादी मोर्चाले आज झापाको विर्तामोडमा आयोजना गरेको सन्देश सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो चेतावनी दिनु भएको हो ।
उहाँले इतिहासको समिक्षा जनताले गर्ने बताउँदै माओवादीका नेताहरू र १० वर्षे जनयुद्धलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए दोस्रो भयानक जनयुद्धको विकल्प नभएको वताउनु भयो ।
उहाँले भन्नु भयो ‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूबाट अपराधीकरण गर्न खोजिँदै छ । झुन्ड्याउन खोजिँदै छ । म चेतावनी दिन चाहन्छु । यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ । त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन । १० दिनमा अर्को जनयुद्ध हुन्छ । त्यसले सबै दलालहरुलाई बढारेर लैजान्छ’ । ‘जनयुद्ध मरेको छैन र मर्दैन, जनयुद्ध हरेकको मनमा छ । आफूसँग भएको सम्पत्ति पार्टीलाई बुझाएर युद्ध गरेको माओवादी कसरी अपराधी भयो ? भन्दै उहाँले प्रश्न गर्नु भयो ।’
उहाँले देश र जनताको पछिल्लो अवस्था गम्भीर संकटतर्फ धकेलिएको बताउँदै देश र जनताको रक्षार्थ वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि दलालहरुको विरुद्ध दोस्रो जनयुद्ध लड्न परेपनि तयार रहेको बताउनु भयो ।
उहाँले नेपाल देश पछिल्लो समय विदेशीहरुको प्रत्यक्ष हस्तक्षेपको चपेटामा रहेको र अमेरिकी साम्राज्यवादले नेपाललाई २१ औँ शताब्दीको उपनिवेश बनाउने प्रपञ्चमा रहेको बताउदै यसका विरुद्ध जस्तोसुकै संघर्ष गरेर भएपनि यसलाई रोक्न आफुहरु तयार रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘नेपालको राष्ट्रिय स्वाधीनता यति धेरै खतरामा परेको छ । साम्राज्यवादी तत्वहरुको प्रत्यक्ष हस्तक्षेप हुँदैछ । यदि पार्टीहरुले र नेताहरुले ध्यान पुर्याउन सकेनन् भने नेपाल २१औँ शताब्दीको उपनिवेश बन्ने खतरामा पुगेकोछ ।’
उहाँले अमेरिकाले रातारात ठूला ठूला सैनिक जहाज ल्याउने र ती जहाजहरुमा के सामान ल्याइराखेको छ भन्ने नेपाली जनतालाई सूचना नहुनुका साथै हवाइ अड्डाका कर्मचारीहरुलाई ती सामान जाँच गर्ने अधिकार पनि नभएको वताउनु भयो ।
उहाँले पछिल्लो समय समाजवादी मोर्चा र पार्टीको विषयमा केही मान्छे, संगठनहरुले भ्रम छर्ने गरेको कारण पार्टीका नेताकार्यकर्ता तथा शुभचिन्तकहरुमा थोरै अन्योलता आउँने गरेको उल्लेख गर्दै यसमा अत्तालिनुपर्ने कुनै कारण नभएको प्रष्ट पार्नु भयो ।
उहाँले सुखानीका सहिदहरुको सम्झना गर्दै बलिदानपूर्ण इतिहासको समिक्षा समय परिस्थिति अनुसार हुने र सहिदहरुको त्याग तपस्या र बलिदानकै कारण आज देशमा गणतन्त्र स्थापना भएको बताउनु भयो ।
महासचिव विप्लवले दलाल संसदीय व्यवस्थाले अबको निकास दिन नसक्ने भएको बताउदै नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउन समाजवादी मोर्चा बनेको ठोकुवा गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस