२५ असोज, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले शनिवार माल्कोटमा ‘सी स्मृति दिवस’ कार्यक्रम हर्षउल्लासका साथ मनाएको छ ।
सी संस्कृतिलाई स्थापित गर्न नेकपाले २०८० सालदेखि मनाउदै आएको ‘सी स्मृति दिवस’ यस बर्ष पनि हर्षउल्लासका साथ मनाएको हो ।
नेकपाका प्रवक्ता प्रकाण्ड सीको जन्मगाउँ माल्कोटमा पार्टी प्रवक्ता प्रकाण्डकै उपस्थितिमा २०८०साल असोज २५ गते आजैको दिन माल्कोटलाई ‘सी गाउँ घोषणा’ गरिएको थियो ।
नेकपाको भाषामा सी भनेको कम्युनिष्ट र कम्युनिष्ट भनेको साम्यवादी । सबै विभेद तथा भेदभाव अन्त्य भएको, सबै समान रुपमा बस्ने व्यवस्था भएको र शोषण दमनको अन्त्य भएको बुझाउने गरिएको छ ।
माल्कोट आफै वर्गसंघर्षको केन्द्र हो । यो गाउँको महिलाहरुले तत्कालिन प्रतिक्रियावादी सत्ताको जनदमनका लागि गाउँमा गएको प्रहरी विरुद्ध प्रतिरोध गरी २०५४ साल चैत्र २६ गते हतियार खोसेको अजम्मरी वहादुर इतिहास छ ।
माल्कोट आफैेमा कम्युनिष्ट तथा क्रान्तिकारी नेता कार्यकर्ता जन्माउने बहादुर गाउँको रुपमा परिचित छ । त्यसैले पनि नेकपाले यस गाउँलाई छनौट गरी सी गाउँ घोषणा गरेको हो ।
शनिवार भएको सी स्मृति दिवसको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रमेश सीले माल्कोट आफै नयाँ इतिहास बोकेको गाउँ भएको भन्दै हरेक क्रान्तिमा अतुलनिय योगदान बोकेको गाउँ भएको बताउनु भयो ।
उहाँले माल्कोटवासीको सपना अझै पुरा हुन बाँकी रहेको चर्चा गर्दै एकीकृत जनक्रान्तिको माध्यमबाट पुरा गर्ने बचन दिनु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य अखडा सी, धरातल सी, अर्जुन सी, शिक्षक संगठनका केन्द्रीय सदस्य गोर्ख सी, निर्मल सी, नविना सी, सहिद परिवारबाट पहले सी लगायतको आतिथ्यता रहेको थियो । केन्द्रीय प्रतिनिधि समिति सदस्य अरिकल सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उल्लेखिय जनताको सहभागिता रहेको थियो ।