विद्यमान व्यवस्था परिवर्तन बिना देश बन्न सक्दैन: नेता नरेश सी

२५ मंसिर, पर्सा । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वी नारायणी ब्यूरो इन्चार्ज नरेश सी (रक्तिम)ले विद्यमान राजनीतिक व्यवस्था परिवर्तन नभएसम्म देश बन्न नसक्ने बताउनुभयो छ ।

पर्साको वीरगन्जमा सोमबार आयोजित “विद्यमान परिस्थिति, नेपालका सञ्चार माध्यम र निकासको आगामी बाटो” बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता नरेशले यस्तो बताउनुभएको हाे ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता नरेशले अहिले नेपाली समाजमा रहेको भ्रस्टाचार, अन्याय, अत्याचार, वैदेशिक हस्तक्षेप, बेरोजगारी र अस्थिरताको मुख्य कारण संसदीय राज्य प्रणाली भएकोले यसलाई नबदलि देशमा शान्ति, विकास र स्थिरता कायम हुन नसक्ने ठाेकुवा गर्नुभयो ।

उहाँले नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगाएतका नेताहरू विरुद्ध काठमाडौ अदालतले हालै जारी गरेको पक्राउ पुर्जी देशमा अशान्ति मच्चाउन प्रतिगामी र दलालहरुले गरेको षड्यन्त्र भएको भन्दै आफुहरुले त्यसको प्रतिवाद गर्ने समेत चेतावनी दिनुभयो ।

नेता नरेशले नेपाली विशेषताको समाजवादको स्थापना गर्दै राष्ट्रिय स्वाधीनताकाे रक्षा गर्न प्रगतिशील, देशभक्त, कम्युनिस्ट वामपन्थी शक्तिहरु बीच एकता हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष शेरबहादुर बिश्वकर्माले कार्यक्रमको औचित्य र उदेश्यबारे प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता देवेन्द्रलाल नेपाली, नेकपा केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज विनोद सी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघका पर्सा जिल्ला अध्यक्ष अनुप तिवारी, शैक्षिक बुद्धिजीवी राजेन्द्र सिंहले विषयवस्तुमाथी टिप्पणी गर्नुभएको थियो ।

जनपत्रकार संगठन मधेस प्रदेशद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमकाे अध्यक्षता सुदर्शनराज पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा रामजी यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमकाे संचालन संगठन सचिवालय सदस्य शोभराज बरालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस