पचालझरनामा पूर्वमुख्यमन्त्री शाहीका कारण अस्पताल बनाउने योजना विवादमा

२५ मंसिर, कालिकोट । पचालझरना गाउँपालिकामा निर्माण हुने भनिएको ५ शैयाको अस्पताल कुन ठाउँमा बनाउने भन्ने विवाद बढदै गएको छ ।

पूर्वमुख्यमन्त्री महेन्द्र वहादुर शाहीले आफ्नो वडामा अस्पतालको योजना तान्न खोजेपछि पछिल्लो समय विवादले उच्च रुप लिन पुगेको स्थानीय राजनीतिक दलहरुले आरोप लगाएका छन ।

स्थानीय राजनीतिक दलहरुले यहि मंसिर १७ गते जिल्ला प्रशासन कार्यलय कालिकोटमा समेत निवेदन दिदै जवर्जस्त पूर्वमुख्यमन्त्री शाहीको वडामा बनाउन खोजिएको ५ शैयाको अस्पताल रोकिनुपर्ने माग गरेका छन ।

स्थानीय राजनीतिक दलहरुले गाउँपालिकाको पायक पर्ने ठाउँ पडेक्षामा अस्पताल बनाउन पनि माग गरेका छन ।

गाउँपालिका पूर्व अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका नेता खडक सेजुवालले समेत पूर्वमुख्यमन्त्री शाही र गाउँपालिकाका वर्तमान अध्यक्ष देवराज शाहीले आफ्नो वडामा अस्पताल लिन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ ।

नेपाली कांग्रेसका नेता टेक बहादुर बोगटी, पटक बहादुर शाही, नेकपा (माओवादी)का नेता मनिलाल ऐडी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भिम प्रसाद न्यौपाने, एमालेका नेता रण रोकाया र जेनजी प्रतिनिधि मंगल सेजुवालले जवर्जस्त पूर्वमुख्यमन्त्रीको वडामा अस्पताल लिन खोजिएको भन्दै विरोध गरेका हुन ।

उनीहरुले जिल्ला प्रशानस कार्यालय कालिकोटमा पेश गरेको निवेदनमा पचालझरना गाउँपालिकाको ५ शैयाको अस्पताल निर्माणको विषय लामो समयदेखि विवादमा रहेको भन्दै सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधिन रहेकोले तत्काल निर्माणको काम रोक्न माग गरेका छन ।

गाउँपालिकाका अध्यक्ष देवराज शाही पूर्वमुख्यमन्त्री शाहीकै गाउँको स्थानीयवासी हुनुहुन्छ । उहाँले पूर्वमुख्यमन्त्री शाहीको निर्देशनमा बहुमत कार्यपालिका सदस्यको निर्णय भन्दै आफ्नै वडाको लाहुरे स्थानमा अस्पताल बनाउने निर्णय गराउनु भएको थियो ।

यो निर्णयपछि पालिकामा तिव्र विवाद बढेपछि अहिले अदालतमा मुद्धा विचाराधिन छ । अधिकाँस राजनीतिक दलहरुले पालिकाको पडेक्षामा ठाउँ पनि खुल्ला र स्थान पनि सबैका लागि पायक पर्ने भएकाले अस्पताल त्यही बनाउन माग गरेका छन ।

तर पूर्वमुख्यमन्त्री शाही र पालिका अध्यक्ष शाहीको षड्यन्त्रका कारण अस्पताल निमार्णको विवाद बढेको दलहरुको जिकिर छ ।

नेकपा (माओवादी)का नेता मनिलाल ऐडीले मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा हुदाहुदै पूनः महेन्द्रबहादुर शाहीको निर्देशनमा गाउँपालिकामा छड्के समयमा बैठक बसी तीस लाख रकम विनियोजन गरी सम्झौता गर्नुपूर्व नै टहरा निर्माणका सामग्रीहरु अपहरण गरेर लाहुरेमा झारीको भन्दै आपत्ति जनाउनु भएको छ ।

राजनीतिक दलहरुले यो विषयमा पालिकामा छलफल गर्न खोज्दा गाउँपालिका अध्यक्ष शाही छलफलबाट भागेको आरोप लगाएका छन ।

यस विषयमा गाउँपालिका अध्यक्ष देवराज शाहीलाई बुझ्न खाेज्दा उहाँलाई सम्पर्क हुन सकेन ।

राजनीतिक दलहरुले आफ्नो निवेदनमा भनेका छन ‘हामी तपशिलका राजनीतिक दलको तर्फबाट न्यायीक छलफलका लागि तत्काल अबैधानिक स्थानमा अवैधानिक तरीकाले खर्च गर्न खोजेको रकम कुनैपनि हालतमा कार्यान्वयन नगर्न दिन हुन निर्देशनको अपेक्षा सहित यो उजुरी निवेदन श्री प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्दछौं ।’

यस्तो छ राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीलाई दिएको उजुरी निवेदन

प्रतिक्रिया दिनुहोस