२५ मंसिर, काठमाडौ । नेकपा (माओवादी)का महासचिव विप्लव सीले नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र चलिरहेको खुलासा गर्नु भएको छ ।
नेकपा (माओवादी) वागमती प्रदेशको ‘बैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम’लाई विहिवार काठमाडौमा सम्वोधन गर्दै महासचिव विप्लव सीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र चलिरहेको खुलासा गर्नु भएको हो ।
महासचिव विप्लव सीले जेनजी आन्दोलनपछि नेपालका कम्युनिष्टहरुमा देखिएको सैद्धान्तिक विचलन र भागदौडको अवस्था भित्र साम्राज्यवादी षड्यन्त्रको प्रभावदेखिएको दाबी गर्नु भयो ।
‘अमेरिकी र भारतीय साम्राज्यवादको नेपालका कम्युनिष्टहरुलाई समाप्त पार्ने षड्यन्त्र छ, नेपालका कम्युनिष्टहरुलाई विचार र सिद्धान्तबाट अलग गरेर कम्युनिष्ट सक्ने नीति छ’ महासचिव विप्लवले भन्नु भयो, ‘जेनजी आन्दोलनपछि माओवादी पहिचान भेट्ने गरी प्रचण्डहरुले सिद्धान्त परित्याग गरि पार्टी एकता गरे, यसले साम्राज्यवादीहरु खुसी भएका छन । अझै कम्युनिष्ट नाम र रातो झण्डा हटाउन साम्राज्यवादी शक्तिको दवाब र षड्यन्त्र छ, यसलाई रोक्ने नेकपा माओवादी वाहेक नेपालका कोही पनि कम्युनिष्ट पार्टीहरु छैनन् ।’
महासचिव विप्लवले अमेरिकी र भारतीयको हस्तक्षेप रोक्ने प्रस्ताव र योजना एकमात्र नेपालको राष्ट्रवादी र जनप्रिय पार्टी नेकपा (माओवादी) संग रहेको दाबी गर्नु भयो ।
उहाँले जेनजी आन्दोलनका मुद्धा सहि भएपनि साम्राज्यवादी षड्यन्त्रका कारण हाईज्याक भएको टिप्पणी गर्नु भयो ।
‘माओवादीसंग भएको विचार र प्रस्तावले मात्र साम्राज्यवादी षड्यन्त्र रोक्न सकिन्छ, अहिले कोही पार्टीसंग साम्राज्यवादी षड्यन्त्र रोक्ने प्रस्ताव छैन’ उहाँले भन्नु भयो, ‘जेनजी आन्दोलनमा घुसपैठ भयो, पश्चगामी र साम्राज्यवादी घुसपैठले गर्दा जेनजीको आन्दोलन निश्कर्ष विहिन भयो । यसलाई हाम्रो पार्टीले निर्णायक गराउनु पर्छ ।’
उहाँले जेनजीहरुसंग सहकार्य गर्नुपर्ने भन्दै स्पष्ट दृष्टिकोण सहित माओवादी पार्टीले उठाउदै आएका मुद्धा र जेनजीका मुद्धा कार्यान्वयन गर्नु पर्ने विचार राख्नु भयो ।

‘हामीले उठाएका कतिपय प्रस्तावहरु जेनजीहरुले पनि उठाउन थालेका छन, नेपालमा ५०० र १००० का नोटहरु बन्द गर्ने कुरा, सर्वपक्षिय सरकारको कुरा, संविधान संशोधन र पूर्नसंरचनाको कुरा, उच्चस्तरिय छानविन आयोगको कुरा यो हाम्रो पार्टीको प्रस्ताव हो’ महासचिव विप्लवले भन्नु भयो ।
महासचिव विप्लवले नेकपा माओवादी आउने चुनावमा भाग लिन तयार भएको र नेपाली जनताले आफ्नो पार्टीलाई जिताउने पनि विश्वास व्यक्त गर्नु भयो ।
नेता कार्यकर्तालाई आआफ्नो कर्तव्य पुरा गर्न निर्देशन दिदै महासचिव विप्लवले नेपालमा स्पष्ट विचार, सिद्धान्त र कार्यक्रम विना कुनै पनि पार्टीसंग एकता हुन नसक्ने जिकिर गर्नु भयो ।
महासचिव विप्लवले एकताको लागि नयाँ कम्युनिष्ट केन्द्र बनाउने र बैज्ञानिक समाजवादमा जाने शर्तमा सिद्धान्त परित्याग नगरी एकता गर्न आफुहरु सधै खुल्ला भएको पनि बताउनु भयो ।
उहाँले आर्थिक व्यवस्थापनका हिसावले अन्तीमसम्म टिक्ने नेपालका राजनैतिक पार्टीहरुमा एउटा एनजीओवाट चल्ने पार्टी, अर्को सरकारको पैसा र पावरबाट चल्ने पार्टी र अर्को आफ्नै उत्पादनबाट चल्ने पार्टी गरी तीनवटा पार्टीमात्र रहने दाबी गर्नु भयो ।
महासचिव विप्लवले श्रम र उत्पादनबाट आत्मनिर्भर भएर चल्ने पार्टी मात्र नेपाली जनताको पक्षमा लड्ने पार्टी हुने ठोकुवा गर्दै त्यस्तो पार्टी नेकपा (माओवादी) मात्र हुने बताउनु भयो । प्रशिक्षण कार्यक्रम पार्टी प्रवक्ता तथा वागमती प्रदेशका इन्र्चाज प्रकाण्ड सीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व महासचिव विप्लवलाई पार्टी प्रवक्ता प्रकाण्ड सी लगायतका केन्द्रीय नेताहरुले भव्य स्वागत गरेका थिए ।
