अब कानेखुसी गरेर पार्टी चल्दैन ः प्रचण्ड


२६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कानेखुसी गरेर पार्टी नचल्ने बताउनु भएको छ ।
बागमती प्रदेशका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरुको भर्चुअल भेला भएको थियो । बिहीबार गरिएको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा कानेखुसी गर्न रुचाउने प्रवृत्ति देखिएको बताउनु भएको थियो ।
भेलामा सहभागी एक नेताका अनुसार प्रचण्डले अब ओलीसँग एक्लाएक्लै बस्ने र कानेखुसी गरेर अगाडि नबढ्ने बताउनु भयो । ‘पार्टी कमिटीको बैठक राखेर निर्णय लिनेभन्दा पनि कानेखुसी गरेर अगाडि जाऔं भन्नेमा केपी ओली कमरेडको धेरै जोड देखिन्छ । तर त्यसरी नहुने रहेछ’, प्रचण्डले भन्नु भएको छ ।
सचिवालयकै नेताहरु कानेखुसीको नीति अवलम्बन गर्ने र धोका दिने प्रवृत्ति ओलीमा रहेको उहाँले बताउनु भयो ।
‘अब कानेखुसी गरेर होइन, पार्टीका नेताहरुसँग छलफल गरेर सहमति निकालेर अगाडि बढ्नुपर्छ । बैठकले निर्णय गर्ने र नेतृत्वले कार्यान्वयन गर्नेतिर जानुपर्छ’, प्रचण्डले भन्नु भयो । ओलीको व्यवहारले आफू दिक्क भइसकेको उहाले बताउनु भयो ।
प्रचण्डसँगै नेता नेपालले पनि सम्बोधन गर्नु भएको थियो । पहिले दुई अध्यक्ष मिलेर आफूलाई अल्पमतमा पारेको सम्झदै नेता नेपालले ‘दुई अध्यक्षको चोचोमोचो’ले संकट आएको बताउनु भयो । ‘पहिले पनि भनेको थिए । दुई अध्यक्षले गरेपछि भइहाल्यो भनेर हुन्न । पार्टी कमिटीले पार्टी चलाउने हो’, नेपालको भनाइ थियो ।
नेता नेपालले प्रचण्डलाई पहिले पनि ओलीबाट धोका पाउनु हुन्छ भनेर जानकारी दिएको बताउनु भयो ।
मंसिर २१ मा सुरु भएको स्थायी कमिटी बैठक आइतबारसम्म स्थगित भएको छ । त्यो बीचमा आन्तरिक कलह सुल्झाउन अनौपचारिक पहल गर्ने भनिएपनि ओली र प्रचण्डबीच एक पटकमात्रै भेटवार्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस