क्रान्तिको धरोहर विवश,इन्द्रजीत गुमाएको पौष २७ को कालो दिन

विषयप्रवेश

‘क्रान्तिकारीहरुका लागि रुदा रुदै हाँस्नुपर्छ, हाँस्दा हाँस्दै रुनुपर्छ’ जनयुद्धको राप र तापमा हामीलाई पार्टीले यही कुरा भन्ने गथ्र्यो । साँच्चै त्यो दिन हाँस्दा हाँस्दै रुनु पर्ने दिन आईलाग्यो । जनयुद्ध र कालिकोटे जनताका महान आदर्श आदरणीय नेतृत्व विश्वनाथ योगी (विवश) र पुष्पराज न्यौपाने (इन्द्रजीत) गुमाउनु पर्यो । उहाँहरुको साथमा आत्मीय छापामार योद्धा मदनलाई पनि गुमाउनु पर्यो । यो घटनालाई सम्झिदा अहिले पनि मन भक्कानिएर आउछ । मन झस्किएर आउछ । अनकन्टार भिरमा संगै भएका आदरणीय कमरेड गुमाउनु पर्दा मुटु छिया छिया परेर आउछ । यो हातले कतावाट लेख्न सुरु गरौं हात कापिरहेकोछ । हात अगाडि बढ्न मानिरहेको छैन । तर पनि जबर्जस्त हातको औलामा कलम राखेर कुदाउने प्रयास गरिरहेको छु । बाहिर हेर्छु मेरो आँखा अगाडि औंसीको रात जस्तै छ । चारैतिर अध्यारो छ । आँखा रसाएका छन । आँखा ओभानो छैन । मन पीडाबोधले गाँठो परेको छ । मनमा शान्ति छैन । तर पनि लेख्दैछु । मेरो मानसपटलको अविष्मरणीय घटना थोल्म घटनाका वारे । आदरणीय कमरेडहरु आँखै अगाडि गुमाएको छु तर पत्यार लागेको छैन । एकमनले कमरेडहरु जीवितै छन होला सोच्दैछु । अर्कोमनले यो संसारबाट कमरेडहरु गईसक्नु भयो यो त मेरो आँखा अगाडि नै हो सोच्दैछु । आफै घटनाको स–प्रमाण छु । कसैलाई सोध्ने ठाउँ पनि छैन । त्यो मेरो लागि कालो दिन थियो । क्रान्तिको खम्वा ढल्ने दिन थियो । दिनभरी हाँसो मज्जाकमा रमाएको दिन एकाएक आँसुको भेलमा डुवेको दिन थियो । दुश्मनको गोलीसंग लुकामारी गर्दै कमरेडसंगै भागिरहेको थिए । मलाई गोली नलागी आदरणीय कमरेडलाई दुश्मनको गोली लाग्यो । कमरेडले मृत्यु जीत्नु भयो भने मैले मृत्यु हारे । मबाट किन मृत्यु डराएर भाग्यो ? मैले मृत्युलाई प्रश्न गरे । तर पनि मेरो कुरा सुनेन । मैले सहिदको कोटामा आफ्नो नाम दर्ता गर्न चाहान्थ्ये तर आदरणीय कमरेड अगाडि हुुुनु भयो । मृत्युले पनि उहाँहरुलाई रोज्यो । मेरो लागि मृत्युले समेत हार्यो । आखिर क्रान्तिको धरोहर विवश,इन्द्रजीत गुमाएको पौष २७ को त्यो कालो दिनको बारे यहाँ दुईचार शव्दहरु लेख्न चाहान्छु ।

(क) घटनाको अघिल्लो दिन

वि.स. २०५७ साल पुस २५ गतेको दिन थियो । एउटा छापामार टिम सहित पार्टी जिल्ला सदस्य तथा एरिया नम्वर २ का इन्चार्ज क विवश र म मेहेलमुडीको धामीगाउँमा सेल्टर लिएर बसेका थियौ । एरिया नम्वर दुईमा साविकका मेहेलमुडी,मुम्रा,सिप्खाना,फुकोट र नानीकोट गाविसहरु थिए । कर्णाली पारिको पलाँता क्षेत्रको ३ नम्वर एरियालाई समेत उहाँले इन्चार्जसीप गर्नु भएको थियो । जिल्लाको पार्टी सेक्रेटरी रणवीर लगायतका नेताहरु बाहिर थिए । उहाँले २ नम्वर एरियाका शिक्षकहरुको भेला पुस २७ गते फुकोटको थोल्ममा राख्नु भयो । त्यो कार्यक्रमको लागि तयारी गर्न एरिया सेक्रेटरी मानुषिलाई जिम्मेवारी दिनु भयो । शिक्षकको भेलामा क. इन्द्रजीतलाई पनि सहभागी गराउने सोच क.विवशले गर्नुृ भयो । क. इन्द्रजीत बाजुरा जिल्लाको पूर्वी क्षेत्रको इन्चार्ज हुनुहुन्थ्यो । संरचनाको हिसावले कालिकोट,अछाम बाजुरा एउटै जिल्लामा थियो । क.इन्द्रजीत बाजुराको मोहोत्ती भन्ने ठाउँमा हुनुहुन्थ्यो । क.इन्द्रजीतलाई बोलाउनको लागि क.विवशले पत्र लेख्नु भयो भने पलाँताको सेक्रेटरी ज्योतिलाई समेत पार्टी योजनाको कामको बारे पत्र लेख्नु भयो । मलाई ती दुवै पत्र हातमा दिएर पुर्याउन भन्नु भयो । पुस २६ गतेको विहानी मिमिरे उज्यालो भयो । विहान ६ वजेको थियो । त्यतिवेला फोनको सुविधा थिएन । म क. विवशले दिएको पत्रहरु लिएर बाजुरा तिर लागे । उहाँले पुस २७ गते थोल्म आउनु होला भन्नु भयो र विदाईको हात मिलाएर छुट्टियौ ।

म पत्र साथमा लिएर हावाको बेगमा हिडे । मलाई कुनै भोग र प्यासले छोएन । करिव पाँच घण्टाको हिडाईपछि विहान ११ वजे बाजुराको गोहत्री भन्ने ठाउँमा पुगे । त्यहाँ कुनै पार्टी सम्पर्क भेटिएन । बाटोमा कुनै दुश्मनको अवरोध पनि भएन । छिटो भन्दा छिटो क.इन्द्रजीतलाई भेटनु थियो र पत्र दिनु थियो । तर पत्रमा क.इन्द्रजीतलाई थोल्मको शिक्षकको हुने कार्यक्रममा बोलाएको कुरा मलाई थाहा थिएन । अरु कुनै पार्टी योजनाको कामको पत्र होला भन्ने लागेको थियो । म हिड्दा– हिड्दा बिस्तारै भोकले सताएको थियो । पानी प्यास पनि लागेको थियो । थकान पनि थियो । तर कामको चिन्ता पनि त्यत्तिकै थियो । एउटा कमरेडको घरमा पुगे । खाना खाएर जाउ भन्ने लाग्यो । खाना सोधे । एउटा आमा हुनुहुन्थ्यो खाना खाएको छैन आमा खाना छ ? भनेर सोधे । खाना छ बावु ! भन्नु भयो । खाना खाए । आमाले यहाँ कोही माओवादी छैनन् बावु मोहोत्री तिर छन की ? उत्तै गएपछि भेट होला भन्नु भयो । म पनि आमाबाट विदा हुदै मोहोत्री भन्ने ठाउँतिर गए । गाउँको तल झरेर उकालो लाग्नु पथ्र्यो । बीचमा खोला थियो । विकट ठाउँ भएकाले बाटो सजिलो पनि थिएन । तर पनि जानै पर्ने वाध्यता थियो । म सरासर मोहोत्री पुगे । त्यहाँको एक विद्यालयमा पार्टीको कार्यक्रम रहेछ । त्यही कार्यक्रममा क.इन्द्रजीत प्रमुख अतिथिको रुपमा बस्नु भएको थियो । म खुसी भए । पार्टी सम्पर्क भेटियो भन्ने लाग्यो । साथमा एरिया सेक्रेटरी सुन्दर पनि हुनुहुन्थ्यो ।

समय दिउसोको ठीक १२ बजेको थियो । कार्यक्रम चल्दै थियो । तर मलाई देखेपछि क.इन्द्रजीत र सुन्दर बाहिर आउनु भयो । के कति कामले आउन भयो ? भनेर सोध्नु भयो । लालसलाम ! तथा भलाकुसारी गर्दै पत्र दिए । क.इन्द्रजीतले ठीक छ खाना के गर्नु भयो ? खाना नखाएको भए खानु होस् भन्नु भयो । मैले खाना खाएकाले पर्दैन खाएको हो भनेर भने । मैले ज्योतिको पत्रपनि छ पलाँता जानु पर्ने छ भने । क.इन्द्रजीतले पलाँता जाने बाटो सिकाउनु भयो । उहाँले यसको तल कर्णाली नदिमा पुल छ,त्यो तरेर साप्पाटा जानु,गाउँ देखाएदै उ त्यो साप्पाटा गाउँ हो । त्यसपछि थ्रिपुतिर लाग्नु भन्नु भयो । मैले हुन्छ भन्दै विदाईका हात मिलाउदै छुट्टियौ ।
मेरो लागि त्यो भूगोल नयाँ थियो । कहिलै नगएको ठाउँ थियो । तर पनि जनतासंग सोधपुछ गर्दै गएको थिए । फेरी पनि त्यही नीति लागु गर्नु थियो । करिव एक घण्टापछि कर्णाली नदिको पुलमा पुगे । पुल तरेर कर्णाली पारिको बाजुरा साप्पाटा पुगे । त्यो आसपासमा दुश्मनको क्याम्प थिएन । अलि टाढा थियो । जनतासंग सोधपुछ गर्दै थ्रिपु जाने बाटो तिर लागे । भूगोल ठुलो थियो । कालिकोटको धौलागोह पुगेर त्यसपछि थ्रिपु,राम्नाकोट आउनु पथ्र्यो । बाटो भिराईलो भएकाले ढुङ्गाहरु खस्ने गथ्र्यो । कति त बाँदर,स्यालहरुले बाटो काट्ने गर्थे । थुप्रै घुम्तीमोड र कठिनाईहरु पारगर्दै यात्रा गरिरहे । उमेरको हिसावले म १७ वर्षको किशोरावस्थाको थिए । परिपक्क उमेर पनि थिएन । तर क्रान्तिकारी विचार र साहसले कुदिरहेको थिए । कुनै दुश्मनको डर थिएन । मात्र पलाँताको पार्टी सम्पर्क खोज्दै गए । समय ढल्किदै गएको थियोे । धौलागोह हुदै थ्रिपु पुगे । तर कहिपनि पार्टी सम्पर्क भेटिएन । थ्रिपु पुग्दा साँझ नै पर्यो । अव बास बस्नुको विकल्प थिएन । पार्टी सम्पर्क विहान खोज्ने मनमनै सोच्दै बास बस्ने तयारी गरे । एउटा बाटो नजिकै घर भेटियो र बास बसे ।

(ख) राती १२ बजे घर घेरामा ः

म बास बसेको घरमा एउटा बुढी आमा मात्र हुनुहुन्थ्यो । उहाँले खाना बनाएर दिनु भयो । खाना खाईसकेपछि म अर्को कोठामा गएर सुते । आमाले माओवादी हुन भन्ने कुरा थाहा पाईसक्नु भएको थियो । म त्यो ठाउँको लागि नयाँ थिए । त्यो घरलाई माओवादीले सेवोटेज गरेको रहेछ । आमाका छोराले सिआईडी सुराकी गरेको र गाउँमा जनता माथि शोषण दमन गरेको भनेर कार्वाही गरेको रहेछ । छोराहरु विस्थापित भएर सदरमुकाम मान्म बस्दा रहेछन । मलाई त्यो कुरा थाहा थिएन । म नयाँ मान्छे गएर त्यो घरमा बास बसेपछि गाउँमा चासोको विषय बनेछ । गाउँका मिलिसियाहरुले म माथि निगरानी बढाएका रहेछन । पार्टीको थ्रिपु इन्चार्ज पवित्रलाई राती– राती खवर गरेर बोलाएछन । मिलिसियाहरुले पवित्रलाई भनेछन “सिआईडी फटाहको घरमा एउटा सिआईडी आएको छ कव्जा गर्नु पर्यो ।” अनि पवित्र पनि के कम ? मलाई कव्जा गर्न एक दर्जन मिलिसिया सहित घरघेरा हालेर राती १२ बजे म सुतेको कोठामा आए । मलाई भने नयाँ ठाउँ भएकाले कोही माओवादी विरोधीहरुले मार्ने हुनकी भन्ने डर थियो । तर जे भएपनि दिनभरीको थकानले म मस्त निद्रामा थिए । पवित्रले मेरो आखाँमा टर्च बाल्दै को होस् ? भनेर कठालो समाए । म झस्किए ! अव मेरो अन्तीम दिन रहेछ । यो गाउँमा फटाहहरु रहेछ मलाई मार्ने भए सोचे । मार्न लाग्ने बेला प्रतिरोध गर्नु पर्छ भन्ने मनमा आयो । म पनि जुरुक्क उठे । तपाईहरु को हो ? राती मेरा कोठामा आएर मलाई समात्ने भनेर प्रश्न गरे । उनीहरुको अनुहार चिन्न सकिन । बत्ति थिएन । अध्यारो कोठा थियो । स्थानीय मिलिसियाहरुलाई नचिने पनि मैले क.पवित्रलाई भने चिनेको थिए । तर राती भएकाले उनले पनि मलाई झट्ट चिन्न सकेनन् । उनीहरुले तपाई को हो ? यो फटाहको घरमा आएर सुत्ने भने । बोल्दा बोल्दै मैले पनि पवित्रको कठालो समाते । दुवै जना बीच धकेला धकेल सम्म भयो । उनीहरुले समातेको टर्च जब पवित्रको मुखमा पर्यो मैले उनलाई चिने । पवित्रले पनि स्वरबाट चिनेछन । हामी दुवैजना लाजले भुतुक्क भयौ । म भन्दा बढी त पवित्र लाजले भुत्क भए । अरु मिलिसियाहरुलाई बाहिर पठाए । पछि सरी ! कमरेड चिनेनौं । निन्द्रा खराब गरेयौ भने । मैले ठिकै छ केही छैन भने । तपाईको गाउँमा यसरी निगरानी बढाउनु भएकोमा धन्यवाद छ भने । केही समय भलाकुसारी भयो । म ज्योतिको पत्र ल्याएर आएको छु कता छन ? भनेर सोधे उनले राम्नकोट छन उतै जानु होला भने । उनी मबाट बिदाई भए । अव राम्रोसंग सुत्नु भने दुवै जनाले हात मिलायौ । र म फेरी सुत्य ।

जब विहानको मिरमिरे उज्यालो भयो । कुखुराका भालेहरु कुखुरी काँ गरेर बास्न थाले । म पनि विहानै उठे । हातमुख धोएर हिड्ने तयारी गरे । आमालाई रातीको घटना सुनाए । ठिकै छ बावु भन्नु भयो । म आमाबाट बिदाई भएर राम्नकोटको यात्रामा लागे । विहानको ८ बजेको थियो । म राम्नाकोटमा पुगे । एरिया सेक्रेटरी ज्योति सहित एरियाका कमरेडहरु धेरै थिए । मैले सबैसंग लालसलाम ! गरेर हात मिलाए । ज्योतिसंगको भलाकुसारी संगै पार्टीको पत्र दिए । उहाँले खाना खाएर जान भन्नु भयो । मैले खाना खाएर मलाई सम्पर्क दिएको स्थान थोल्मतिर लागे । पार्टी योजना कार्यान्वयन भएकोमा ढुक्क भए । अब म दिउसो १२÷१बजे सम्म थोल्म पुग्नु थियो । सरासर थोल्मतिर गए । दिउसोको १२ बजे थोल्म पुगे । क इन्द्रजीत पत्र पाउदा बित्तिकै पुसको २६ गते साँझ नै फुकोट पुगिसक्नु भएको रहेछ । साँझ चुत्रिकोट घरमा बसेर विहान थोल्म आउनु भयो । क.विवश सहितको ७ जनाको छापामार टिम पनि थोल्म पुगेको थियो । शिक्षकहरु आउने क्रम सुरु भएको थियो । फुकोटको इन्चार्ज कुशुमले कार्यक्रम र खाने बस्नेको बन्दोबस्त मिलाउनु भएको थियो । मेस चलेको थियो । प्रायः सवै जनाले भर्खरै विहानको खाना खाईसेका थिए । दिउसो एक बजेबाट शिक्षकको कार्यक्रमको समय तोकिएको थियो । थोल्मका स्थानीयबासी मणीराम बरालको घरमा सवैजना बसेका थियौ । सुरक्षाका लागि सेन्ट्री समेत राखिएको थियो । छापामार समेत थियो । ढुक्क भएर कार्यक्रम गर्ने पार्टीको तयारी थियो । अकस्मात ! सोचे जस्तो भएन । दुश्मन आईपुग्यो ।

(ग) दुश्मनको घेरा र भिडन्त सुरु

तत्कालिन सरकारका भाडाका टट्टु प्रहरी (दुश्मन) स्यूनाको मौलाकोटमा क्याम्प खडागरी बसेको थियो । शिक्षकको कार्यक्रम बारे दुई दिन अगाडि देखि प्रचार भएकाले सुराकीका माध्यमबाट पुलिसमा जानकारी पुगेको रहेछ । समयको हिसावले पार्टीले कार्यक्रम आयोजना गरेको ठाउँमा पुग्न दुश्मनलाई आधा घण्टा लाग्थ्यो । क.इन्द्रजीत,क विवश आउने खवर समेत दुश्मनसंग पुगेको रहेछ । स्यूनाकै सिआईडी ध्वजवहादुर शाहीको अगुवाईमा दुश्मन आयो । फुकोटको घोडादाउनी डाँडा हुदै वरपर घेरा हालेर हामी भएको ठाउँतिर आयो । सुरुमा माथि सेल्टर लिएर बसेको कलाकार टिम र सेन्टीलाई लख्ट्दै ल्यायो । हामी पनि तयारी भयौ । दुश्मन टाढा हुदै फायरिङ्ग गरिसकेको थियो । उसको सी आकारको घेरा थियो । हामी उसको घेराभन्दा बाहिर गइसकेका थियौ । बाहिरबाट छापामारले समेत फायरिङ्ग गर्यो । दुश्मनले असिना बर्साए झै गोली चलायो । छापामार लड्दै गर्दा विवश,इन्द्रजीत लगायतको टिम थोल्मको डाँडा तल हिडिसकेको थियो । हाम्रो नेता कार्यकर्ता,छापामार गरी दुई दर्जनको जनशक्ति थियो । लडाकु टिम ७ जना मात्र थियो । उनीहरुको हातमा पनि भरुवा बन्दुक मात्र थियो । बन्दुकको बलले धेरै समय छापामार पनि लड्यो । एकजना विवेकलाई हातमा गोली लाग्यो । उनलाई अगाडि पढाईयो । उनको हातको बन्दुकले क.कुशुमले पनि केही समय लडे । सबै टिम दुश्मनले भेटाउन नसक्ने ठाउँमा आईसकेको थियो । बाटो पहिचानमा समस्या भयो । डाँडाबाट सिधा कर्णाली नदि सम्म पुग्ने बाटो थियो । त्यो बाटो आउन छोडेर वरपर डाँडा र बीचको खोला भएको ठाउँमा आयौ । म क.विवश र क.इन्द्रजीतसंगै थिए । विवश कमरेडले कुन बाटो जाने भनेर क.इन्द्रजीतलाई सोध्नु भयो । उहाँले डाँडाबाट नजाउ बीचको मेलाबाट जाउ भन्नु भयो । सिंगो टिम बीचको खोलाबाट तल झर्यो । माथि –माथि मेला र तल तल पुग्न भिर र यत उता जान नसक्ने ठाउँ रहेछ । दुश्मन नजिक–नजिक आईसकेको थियो । छापामारका कमरेडहरु वरपर डाँडामा लड्दै थिए । तर दुश्मनले पेल्दै आएको थियो । खोलामा भएको जनशक्ति पनि बाटो नपाएर रोकिनु पर्यो । दुश्मन नजिकै आएर हान्न थाल्यो । अन्तिममा अनकन्टार भिर आयो । कित त्यो भिरमा हाम फालेर मर्नु पर्ने कित दुश्मनको गोली खाएर मर्नु पर्ने अवस्था आयो । त्यतिवेला जेहोस मैले सोचे अब सबै पच्चीसै जनाको सामुहकि बलिदान हुने भयो । तर अन्तिम समय सम्म सुरक्षित ठाउँमा पुग्नु नै क्रान्तिको लागि फाईदा हुन्थ्यो । त्यो सबै प्रयासहरु भए । भीरमा सबैजनाको हात समाउदै एउटाभिर पार गर्यौ । क.साधनाले आत्तिएर हाम फाल्दा उनको खट्टा भाँच्चियो । उनी कराउन थालिन मलाई वचाउनु ! मलाई वचाउनु ! भनेर । तर पनि बचाउन सम्भव थिएन । भिरमा बोक्न सकिने अवस्था थिएन । उनलाई पीडाबोधले छोडेर हिड्नु पर्यो । उनलाई नकराउनु भन्दै केही साथीहरुले भिरको ओढारमा लुकाएर आए । दुश्मन भिर भित्र जान सक्ने अवस्था थिएन  । उ वरपरबाट गोली बर्साईरहेको थियो । लिडरसिप बचाउनु नै क्रान्तिको फाईदा हुन्थ्यो । सबैको चिन्ता लिडरसिप माथि थियो । त्यो सबै प्रयासहरु गर्दै भिरमा अगाडि बढ्यौ । हाम्रो छापामार टिमपनि वरपर डाँडाबाट पछाडि आयो । जतिसकिन्छ भिरबाट हाम फाल्दै कमरेडहरु अगाडि बढे । म विवश,इन्द्रजीत लगायतका केही चार पाँच जना साथीहरु मात्र थियौ । भिरको वरपर भागमा भाग्न सक्ने ठाउँको खोजीमा थियौ । खोलाबाट बाहिर आउने वित्तीकै वरपर पाखो जमिन थियो भिर थिएन । सजिलै भाग्न सकिन्थ्यो । त्यही मौका र ठाउँ पनि आएन । अलि तल गएपछि अर्को भिर थियो । भिरको मुनीबाट एउटा रुख थियो । तल झर्दा कित त्यही रुखमा हाम फालेर समात्ने र रुखको सायताले तल जान सकिन्थ्यो । धेरै साथीहरु त्यसरी अगाडि गएका थिए ।

(घ) कमरेड विवश,इन्द्रजीत र मदनलाई गोली लाग्दा

क.विवशले रुखबाट जानु भन्दा कतैबाटो भेटाईन्छकी भनेर उठनु भयो । सानो पाँखोमा उभिनु भयो । दुश्मनको गोली उहाँको छातिमा लाग्योे । उहाँले ऐआ कमरेड ! गोली लाग्यो तपाईहरु जानु भन्नु भयो । फेरी बोल्नु भएन । रगतले रक्तामे भयो । हामी पनि उहाँ भएको ठाउँम पुग्न सकेनौ । गोलीको वर्षाभईरहेको थियो । त्यसपछि जसो तसो त्यो रुखमा हाम फाल्दै रुखको सायताले तल झर्यौ । माआवादी साला मर्यो भन्दै गोली बर्साईरहेको थियो । कतिकतिवेला छापामारले जवाफी फायरिङ्ग गरिहेका थिए । दुश्मन २५ जनाको सशस्त्र हतियार सहितको टिम थियो । उनीहरुको आधुनिक हतियारसंग हाम्रो बन्दुकको प्रतिरोधले थोरै पनि दुश्मन पछाडि हटेन । उसले हाम्रा विरुद्ध निकै गाली गलौज गर्दै गोली बर्साइरहेको थियो । भीरपाखाहरुमा चट्याङ्ग –चुटुङ्ग, ड्याङ ड्याङ,भुटभुटको आवाज मात्र थियो । क. विवशको रगतले खोला रक्तामे भइसकेको थियो । तर पनि बाध्यताले उहाँलाई छोड्दै भिरको तल्लो भागमा पुग्यौ । अझै त्यहाँबाट तल झर्न निकै गाह्यो थियो । तर अलि–अलि बाटो जस्तो र भीरबाट क्रस भएर मेलातिर जान सक्ने ठाउँ जस्तो थियो । त्यहाँ पुग्दै थियौ । नाङ्गो चट्टान र भिर आईपुग्यो । त्यो त्यत्ति ठुलो थिएन हाम फालेर जान सकिन्थ्यो । त्यसबाट हाम फाल्दै तल झर्यौ । त्यहाँबाट हाम फाल्ने क्रममा क.इन्द्रजीतको खुटटामा गोली लाग्यो । उहाँ लड्नु भयो । छापामार सदस्य क. मदनले बन्दुक भरेर एउटा फायरिङ्ग गर्न लाग्नु भयो । उहाँलाई समेत छातीमा गोली लाग्यो । अब दुई जना घाईते थपिनु भयो । केही समय भित्र क.मदनको साहदत्त भयो । तर क.इन्द्रजीत गोली लागेपनि बोल्न सक्नु हुन्थ्यो । उहाँलाई लिएर जानका लागि भिर भएकाले कठीन थियो । तर पनि हामी विचलीत भएनौ । दुश्मनको गाली र गोली असिना जस्तै बर्सिरहेको थियो । कसको कतिवेला गोली लाग्ने र सहिद हुने पालो छ एकनि थिएन । हामी बलिदान कुरिरहेका थियो । मृत्युसंग लुकामारी गरिरहेका थियौ । छापामारका लेखक,वीर,स्टार गण्डकी,म,केवल लगायतका ५÷७ जना मात्र थियौ । करिब अरु साथीहरु सुरक्षित भइसकेका थिए ।

आदरणीय नेता क.इन्द्रजीत घाईते भएकाले संगै थियौ । दुश्मन नजिक–नजिक पुग्दै हान्दै थियो । अन्तीममा क.इन्द्रजीत रिसाउनु भयो । उहाँले भन्नु भयो “कमरेड तपाईहरु सबैजना जति सकिन्छ भाग्नु होस् । पार्टीको ठुलो क्षति हुन्छ । म घाईते छु हिडन सक्दैन । मेरो लागि नपर्खिनुहोस् । म देश र जनताको लागि बलिदान दिन्छु ।” मन निकै खल्लो भयो । भावुक र अमिलो भयो । कसरी छोेडेर जाने होला ? तर पनि बाध्यता थियो । भीर र दुश्मनको घेरा नजिक भएकाले कुनै उपायले उहाँलाई बचाउन सकिने अवस्था थिएन । अव बाँकी रहेका कमरेडहरु पनि को कति बच्ने ? ग्यारेण्टी थिएन । दुश्मनको गोली बर्सिरहेको थियो । दुश्मन निकै नजिकबाट गोली हाल्न लाग्यो । हामी खोलाको बीचमा थियौ । हाम्रो गतिविधिहरु दुश्मनले नियालीरहेको थियो । जतिसकिन्छ सबै माओवादी सिध्याउने योजनामा दुश्मन थियो । दुश्मन इन्द्रजीत र विवश कमरेडलाई नभेटाउदा सम्म फर्किने अवस्था थिए । उ मुख्य दुई जना नेतालाई टार्जेट बनाएर आएको थियो । हामीले दुश्मनको योजनालाई समयमै बुझन सकेनौ । दुश्मन तिव्र हस्तक्षेतले नजिक आयो । फेरी क.इन्द्रजीत रिसाउनु भयो । तपाईहरु जानुहोस् ! जानुहोस् ! भन्न लाग्नु भयो । उहाँले आफ्नो हातको घडि निकालेर क. लेखकलाई दिनु भयो । अब वाध्य भएर हामी नेतृत्वलाई जीवित छोड्दै बिदाईको हात हल्दाउदै छोड्नुपर्ने अवस्था भयो । सायद ! हुन सकछ भाग्दा भाग्दै इन्द्रजीत भन्दा अगाडि हाम्रो पनि वलिदान हुनसक्थ्यो । त्यो मानसिकताका साथ हामी दुश्मनको घेराबाहिर आयौ । क.लेखक भिरको दायाँतिर भाग्नु भयो र खुट्टामा समेत बारबोरको छर्रा लागेर घाईते पनि हुनु भयो । क.वीर भिरको सिधा तल हाम फाल्नु भयो र भाग्नु भयो । अरु को कतातिर बाट भागे ? थाहा पाएन सकिएन । तर म,स्टार र केवल भन्ने साथीहरुसंगै भिरबाट हामफालेर मेला तिर पुग्यौ । मेलामा दौडेर होइन चिप्लीएर घ्रसिदै अलि टाढा पुग्यौ र बल्ल दौडिएर गोली नलाग्ने तरिकाले भाग्यौ । गोलीका पर्राहरु दौड्दा वरिपरी लागेका हुन्थे । शरिरमा भने लागेन । हामी फुगाड पुलमा पुग्यौ र सुरक्षित हुन सक्यौ । त्यसपछि मेरो भिनाजु वीर भेटिनु भयो । अरु साथीहरु पनि भेटिए । म, स्टार,केवुल र वीर तिखाती तिर लाग्यौ । क.वीरको घरमा साँझ बास बस्यौ । दुश्मनको गोली हातमा लागेकाले भिरबाट लडेर क. विवेक गम्भीर घाईते हुनु भएछ । उहाँ वेहोस र अर्धमृत अवस्थामा भिरमै एक राती बस्नु भयो । तत्काल उद्धार र खोजी तलासी गर्ने अवस्था र समय थिएन । क. साधना भने घाईते भएपनि भिरबाट बाहिर आएर भेडी गोठमा बस्नु भएको रहेछ । भिडन्तमा के कति क्षति भयो ? थाहा थिएन । तीन जनालाई गोली लागेकोमा विवश र मदनको साहदत्त भईसकेको थियो । तर क.इन्द्रजीत जीवित छोडेर आएका थियौ । सूचना संचारको सुविधा थिएन । क्षतिको अवस्था भन्न गाहे थियो ।

(ङ) चरम यातना दिएर क.इन्द्रजीतको हत्या

तत्कालिन नेकपा (माओवादी)को कालिकोट जिल्लाको आँखाको नानी क्रान्तिका धरोहर जस्तै क. इन्द्रीत र क. विवश हुनुहन्थ्यो । भिडन्तमा क. विवश र क. मदनको गोली लाग्दा बित्तिकै उच्च शाहदत्त भइसकेको थियो । क.इन्द्रजीत भने खुट्टाम गोली लागेकाले जीवित हुनुहन्थ्यो । क विवश र इन्द्रजीत शिक्षक पेशालाइ छोडेर माओवादी आन्दोलनमा लाग्नु भएको थियो । इन्द्रजीत कालिकोट मात्र होइन वाजुरेली जनताको समेत आखाँको नानी हुनुहुन्थ्यो । उहाँको कार्यक्षेत्र वाजुरा भएकाले वाजुरेली जनताको बीचमा गहिरो गरी भिजनु भएको थियो । क इन्द्रजीतलाई दुश्मनले ज्यूदै कव्जामा लियो । छातीभरी दर्जनौ राउण्ड गोली प्रहार गरिएको थियो । हातमा औला काटिएको थियो । चरम अमानवीय यातना दिएको उहाँको अर्कोदिन शव हेरेर पनि थाहा हुन्थ्यो । सायद ! दुश्मनले गोपनीयता खोलाउने कोशिस गर्यो होला । उहाँले पार्टीको कुनै पनि गोपनीयता खोल्नु भएन । दुश्मनलाई उल्टै धिकार्नु भयो । मलाई मारेर क्रान्ति रोकिदैन सक्छो भने मार भन्ने जवाफ दिनु भयो । चरम यातनाका बीचमा पार्टी र क्रान्तिको शिर उच्च राख्नु भयो । देश र जनताको मुक्तिका लागि आफ्नो अमुल्य जीवन परित्याग गर्नु भयो । उच्च वलिदान दिनु भएका क. इन्द्रजीत,क विवश र मदनको लास माथि समेत हत्यारा दुश्मनले अमानवीय यातना दियो । कायर दुश्मनको यातना र हत्याले सिंगो कर्णाली नदि रक्तामे भयो । चुली मालिका र पुग हिमाल समेत झुक्यो । वनपाखामा वास्ने कोइली तथा चराचुरुङ्गहरु समेत रोए । कालिकोट तथा वाजुराका श्रमजीवी जनता रोए । सिंगो देशको श्रमजीवी वर्ग र सिंगो पार्टी पंक्ति स्तव्ध भयो । क्रान्किो खम्वा ढल्यो । संसार अध्यारो भयो । एउटा कुशल जनताको नेता गुम्दा मेरो मनपनि निकै दुखि भयो । वाजुरा पुगेर वोलाएको नेता आफुले गुमाउनु पर्यो । संगै भलाकुसारी गरी हिडिरेको नेता विवस र आत्मीय साथी मदन गुमाउनु भर्यो । मुटु चिरिएको थियो । आँखा रसाईरहेका हुन्थ्य । मुटुभरी पीडावोध र वेदना मात्र थियो । बरु मलाई नै किन गोली लागेन होला ? मवाट किन मृत्यु डरायो होला ? म दुश्मनको गोली थाप्न तयार नै थिए । तरपनि म भन्दा अगाडि नै आदरणीय क विवश इन्द्रजीत र मदनलाई गोली लाग्दा र छोडेर आउनु पर्दा दिमागले काम गरेको थिएन । दुश्मनलाई काच्चै खाउ जस्तो आक्रोस थियो । दुश्मनको चरम यातनाले क इन्द्रजीत सहिद हुनु भयो । उहाँहरु तीनै जनाको भौतिक शरिर गुमेपनि वैचारिक रुपमा अजर र अमर भएर इतिहासको पानामा वाँचिरहनु भएको छ ।

(च) घटनापछिको अवस्था र श्रद्धाञ्जली

घटनापछि म लगायत केही साथीहरु तिखातीको घोडावाडा वीरको घरमा वास वस्न पुग्यौ । साँझ ७ वजेको रेडियो नेपालको समाचारमा माओवादी आतंककारी संगको दोहोरो भिडन्तमा २ जना ठुला नेता सहित ७ जना मारिएको भनेर समाचार आयो । सात जना को को ? परे होलान भनेर मनमन सोचियो । क विवश,इन्द्रजीत र मदनको वलिदान भयो भन्ने कुरा त आफैले देखेको कुरा भयो । तर थप ४ जना को परे भनेर मनमा कौतहल्ता पलायो । तर दुश्मनले ३ जनाको ठाउँमा सात जना भनेर गोयवल्स शैलीमा प्रचार गरेको रहेछ । पुस २८ गतेको विहान मिरमिरे उज्यालो भयो । हामी सवैजना घटना भएको स्थानमा पुग्यौ । पार्टीका एरिया सेक्रेटरी मानुषि,फुकोट इन्चार्ज कुशुम लगायतका नेता कार्यकर्ता र जनताहरु थोल्मको भिरमा खोज्दै गयौ । क विवश,इन्द्रजीत र मदन जीवित हुने कुरा त सम्भवै थिएन । तर पनि मनमा जीवित भेटन पाईयोस भन्ने झिनो आसा थियो । करेडहरुलाई खोज्न थालियो । क इन्द्रजीत र मदन एकै ठाउँमा मारिएको भेटायौ । क विवश जहाँ गोली लागेर ढल्नु भएको थियो त्यही ठाउँमा भेटायौ । खोलाभरी रगतको कुलो थियो । भिर हेर्न नसकिने डर लाग्दो थियो । हाम फालेर वाँचेकोमा अच्चमित भए । कमरेडहरुका लासहरु भिरवाट वाहिर निकाल्ने काम भयो । क इन्द्रजीतको छातीमा दर्जनौ राउण्ड गोली हानीएको थियो । औलाहरु काटिएको अवस्था थियो । आँखा,कान,कान मुखमा निलडाम तथा चोटपटक थियो । उहाँलाई जीवितै भटाएपछि चरम तथा अमानवीय यातना दिएर हत्या गरिएको सहजै अनुमान गर्न सकिन्थ्यो । सवैका आखाँहरु रसाए । भावकु मनमा सवैले लासहरु निकालेर फुकगाडको मोहर भन्ने ठाउँमा लियौ । त्यो ठाउँ कर्णाली नदिको किनार नजिकै थियो । माटोमा खाल्डो खन्न थाले,कोही रुन थाले,काही सम्झाउन थाले भावकु र विचित्र अवस्था आइलाग्यो । नचाहादा नचाहादै क विवश,क इन्द्रजीत र क मदनको शवलाई खाल्डोमा गाड्ने तयारी भयो । तीनै जना कमरेडहरु प्रति कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सवैले श्रद्धाञ्जली दियौ । एरिया सेक्रेटरी क मानुषिले श्रद्धाञ्जली मन्तव्य दिदै शोकलाई शक्तिमा वदल्न आग्रह गर्नु भयो । वोल्दा वोल्दै उहाँको गला अवरुद्ध भयो । वोल्न सक्नु भएन । सारा कार्यकर्ता तथा जनताको आँखावाट आँसुको धारा वग्यो । शोकमग्न हुदै कर्णाली समेत रोयो । भावुक अवस्थामा आफुलाई समाल्दै क मानुषिले हाम्रा वीरहरु आदरणीय विवश,इन्द्रजीत र मदन मर्नु भएको छैन उहाँहरु सधैको लागि वाँच्नु भएको छ भन्नु भयो । यो कुराले अझै माहोल भावुक वनायो । म पनि त्यही शोकमग्न वातावरणको छेउमै उभिएको थिए । म वोल्न नसक्ने अवस्थामा थिए । मनमनै इन्द्रजीतलाई वाजुरावाट नवोलाएको भए घटना हुन थिएन कि ? शिक्षको कार्यक्रम अर्को ठाउँमा राखेको भए घटना हुने थिएन की ? यस्तै थुप्रै कल्पनाहरु मनमा खेलिरहेका थिए । पीडावोधले भावनाहरु सवैको पोखिएका थिए । तर पनि एउटा क्रान्तिकारी विचारले भावनाहरु समाल्नुपर्ने वाध्यता थियो । विचारले भावना समाल्ने प्रयास गर्दै थिए । क विवश क इन्द्रजीत र क मदनको शवलाई माटोमा हालियो । कमरेडहरुको शरिर माथि माटो राखियो । माथि ढङ्गाले चौतारी वनाईयो र कम्युनिष्ट पार्टीको आँसी हतौडा अंकित रातो झण्डा ओढाएर सम्मान गरियो । शव र समाधिस्थलमा पुष्पगुच्चा चढाईयो । अन्तीममा वीर सहिद– लालसलाम ! जनयुद्ध –जिन्दावाद ! हत्याको वदला –लिन्छौ लिन्छौ ! जस्ता गगनभेदी नारा लगाउदै कमरेडहरुलाई सदाको लागि विदा गर्यौ । दुश्मनसंग वदलालिने वाचा गर्दै क्रान्तिको काममा लाग्यौ । घटनाका घाईते क विवेक र साधनालाई पार्टीले उपचारमा पठायो । उहाँहरुले नयाँ जीवन पाउनु भयो । पार्टी नेतृत्व गुमेकाले कालिकोटमा आँखाको नानी गुमेको अनुभूति भयो । मृत्यु खोज्दा पनि मृत्यु नभएको मान्छे म हुँ भन्दै आफैले आफैलाई धिकार गरे । मैले मनमनै सोचे त्यो दिन मृत्यु समेत म बाट हारेछ । डराएछ । मैले वलिदान दिन तयार भएपनि दुश्मनको गोली मलाई लागेन । आदरणीय कमरेड विवश इन्द्रजीत मदनलाई लाग्यो । क्रान्तिको नियम यस्तै हो भन्दै मनलाई समाल्ने कोशिस गरे । महान जनयुद्धमा मुक्ति या मृत्युको कसम खादै निरन्तर लागिरहे र अहिले पनि लागिरेको छु । क्रान्तिको धरोहर विवश,इन्द्रजीत र मदन गुमाएको पौष २७ को कालो दिन कहिल्यै विर्सिने छैन । अनि मबाट मृत्यु हारेको थोल्म घटना मेरो मानसपटलमा कहिल्यै विर्सिने छैन । वीर सहिद –लालसलाम !

प्रतिक्रिया दिनुहोस