ओलीले कम्युनिस्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन ः माधव नेपाल


२८ पुस, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाउनु भएको छ । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताउनु भयो ।
‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर छैन’, नेपालले भन्नु भयो । ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताउनु भयो । ‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन’, नेपालले भन्नु भयो । ओलीले आसेपासे, हनुमानहरुलाई कम्युनिष्ट संस्कार नसिकाएको बताउनु भयो ।
ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताउनु भयो । ‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भन्नु भयो । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताउनु भयो । ‘रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भन्नु भयो ।
२०७१ मा नेतृत्वमा आए पछि ओलीले पार्टी कार्यालय सुनसान बनाएर घरबाट पार्टी चलाएको नेपालले आरोप लगाउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस