‘ओइ सरकार सुन ! कान खोलेर सुन’


२८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले निरन्तर प्रदर्शन गरिरहेको छ । आधा दर्जनभन्दा बढी प्रतिगमन विरोधी प्रदर्शन गरिसकेको नागरिक समाजले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पहिलो नागरिक सभा गरेको छ ।
नागरिक अभियन्ताहरूको साझा आह्वानमा कलाकार, लेखक तथा सर्वसाधारण जम्मा भएर डबलीमा विरोध कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रतिगमनविरुद्ध युवतीहरूको ‘फ्ल्यास मोब’ गरेका छन् । उनीहरूले उभिएर ‘ओइ सरकार सुन्, निरकुंश होस् तँ’ भन्दै नारासमेत लगाएका थिए ।
‘पोलिटिकल लिट्रेसी फर वोमेन’का सदस्य रहेका किशोरीहरूले फरक शैलीमा गरेको विरोधले सबैको ध्यान खिच्यो ।

ओइ सरकार
सुन, सुन, सुन !
कान खोलेर सुन
समृद्धिको बाजामा
प्रतिगामी धुन ।
भ्रष्टाचार गरिस् तैंले ।
न्याय मारिस् तैंले
गरिस् हाम्रो अपमान
ओइ सरकार सुन
जनताको आवाज सुन !
सभालाई नेपाल बार एशोसियसनका अध्यक्षर चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा, अभियन्ता सिएन थारु, अपांगता समूहका प्रतिनिधि भोजराज श्रेष्ठ, युग पाठक लगायतले सम्बोधन गरेका छन । सभालाई जनकवि दुर्गालाल श्रेष्ठले भिडियोबाटै आफ्नो कविता पढेर सुनाउनु भएको थियो ।

डबलीमा नागरिक तहबाट सभा भइरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू पनि कार्यक्रम भएको नदेखेझैं गरी हिँडेका थिए । अधिकांश प्रगतिशील साहित्यकार तथा विद्वान रहेको प्रज्ञा प्रतिष्ठान नेतृत्व भने सरकारी कदममाथि केही बोल्न नमिल्ने भन्दै मौन बसेको हो ।
नागरिक सभामा बोल्दै नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान कुल्चेर काम गर्ने अधिकार कसैलाई नभएको बताउँदै प्रधानमन्त्रीले त्यो हद पार गरेको बताउनु भयो । उनले भन्नु भयो , ‘संविधानलाई घात नहोस् भनेर नागरिकले भनिरहँदा प्रधानमन्त्रीले न्यायालयलाई नै व्यंग्य गरेका छन् । हामी नागरिकले यसविरुद्ध बोल्नैपर्छ ।’
अध्यक्ष श्रेष्ठले फिलिंगोजस्तो भएर उठेको नागरिक आन्दोलनले भोलि आगोको रुप लिने विश्वास व्यक्त गर्नु भयो ।
पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा मगरले नेपाल पत्रकार महासंघको जन्म नै प्रतिगमन विरुद्ध लड्ने क्रममा भएको स्मरण गर्दै ओली सरकारले स्वतन्त्र प्रेसमाथि समेत निरन्तर प्रहार गरेको बताउनु भयो । थापाले मञ्चबाटै आफूले प्रतिमगन मुर्दावाद ! भन्दै सहभागीहरूलाई पनि मुर्दावाद भन्न लगाउनु भयो ।
आदिवासी जनजाति समाजका अभियन्ता डा. मुक्तसिंह तामाङले संसद विघटनको घटना प्रतिगमनको सिलसिला मात्रै भएको संज्ञा दिनु भयो । अभियन्ता सिएन थारुले सार्वभौमितामाथि धोका हुँदा नागरिक अभियन्ताको ठूलो भूमिका हुने बताउनु भयो ।
सभालाई कलाकार तथा कार्टुनिस्ट रवि मिश्र, रसिक राज र रविन्द्र श्रेष्ठले ताजा पेन्टिङसहित साथ दिनु भएको थियो । उहाँहरूले संविधानमाथिको प्रहार भएको बिम्ब खडा गर्दै सांकेतिक विद्रोह गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस