विप्लव नेतृत्वको नेकपाले थबाङमा यसरी मनाउदै छ जनयुद्ध दिवस

ठुलो धनरासी खर्च गरी खेलकुद प्रतियोगीता आयोजना

२९ माघ,रोल्पा । महान जनयुद्धको २७ वार्षिकोत्सवको अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको उद्गम स्थल रोल्पाको थबाङमा ठुलो धनरासी खर्च गर्दै खेलकुद प्रतियोगीताको आयोजना गरी जनयुद्ध दिवस मनाउदै छ ।

प्रत्येक वर्ष ठुलो धनरासी खर्च गरी जनयुद्ध दिवस मनाउदै आएको नेकपाले यो वर्ष पनि विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाउन लागेको छ । त्यसको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकोे नेकपा थबाङका सेक्रेटरी अमित घर्तीमगरले जानकारी दिनु भयो ।

तत्कालिन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्धको थालनी गरेको दिनलाई थबाङले प्रत्येक वर्ष वार्षिकउत्सवका रुपमा मनाउदै आएको छ ।
माओवादीमा देखिएको विभाजन र विचलनका कारण पछिल्लो समय जनयुद्धलाई अन्यत्र फरक फरक ढँगले मनाउने गरे पनि थबाङले भने प्रत्येक वर्ष पर्वकै रुपमा जनयुद्ध दिवस मनाउने गरेको छ ।

नेकपा थबाङले यस वर्ष पनि पुरुष महिला भलिबल, लघु पुरुष म्याराथुन, व्याडमिन्टन, दोहोरी, एकल नृत्य, बुद्धिचाल (चेस) लगायतका प्रतियोगिताहरुको आयोजना गरेर सप्ताहव्यापी रुपमा जनयुद्ध दिवस मनाउन लागेको हो ।

प्रतियोगिताहरु मध्ये सबै भन्दा बढी पुरुष भलिबलमा प्रथम स्थान हासिल गर्ने समुहले रु ५० हजार प्राप्त गर्ने छ । सबै प्रतियोगिताहरुमा जम्मा १ लाख ९२ हजार बराबरको पुरस्कार राखेको छ । विभिन्न व्यवसायी र शुभचिन्तकहरुको सहयोगमा कार्यक्रम सम्पन्न गर्न लागिएको आयोजकले बताएको छ ।

स्मरण रहोस् गत वर्ष सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको समयमा समेत थबाङमा जनयुद्ध दिवस मनाइएको थियो । पार्टी माथि प्रतिबन्ध लगाइएको अवस्थामा प्रशासनसँग लामो छलफल पश्चात युवा संगठन नेपाल आयोजक राखेर जनयुद्ध दिवस मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस