३० चैत्र, कालिकोट । रास्कोट नगरपालिका आफैमा सामरिक महत्व बोकेको नगरपालिका हो । यहाँको राजनीतिक, सामाजिक,सांस्कृति र आर्थिक विशेषताहरु निकै फरक छन ।
यहाँका सबै विशेषतामाथि अहिलेसम्म माओवादी केन्द्रले एकछत्र रुपमा राज गरिरहेको छ । जुन विरासतलाई प्रतिपक्षिय दलहरुले भत्काउन अधिकतम प्रयास गरेका छन ।
आगामी ०८४ को चुनावसम्म रास्कोटमा नयाँ विरासत काययम गर्ने सबै राजनीतिक पार्टीको पसना छ ।
माओवादी केन्द्रले आफ्नो विरासत जोगाउन चाहान्छ भने अरु दलहरुले खोस्न चाहान्छन । जसको प्रत्यक्ष टक्करमा शिर्ष नेताहरु उभिएका छन ।
जसका कारण रास्कोटलाई नेपालका प्रमुख राजनीतिक पार्टीका शिर्ष नेताहरुले ‘फोकस पोइन्ट’ बनाउन थालेका छन ।
२०७९ सालको संघ, प्रदेश र स्थानीय तहको निर्वाचिनदेखि संसदवादी पार्टीका शिर्ष नेताहरु चुनावी ‘फोकस पोइन्ट’मा केन्द्रीत थिए । जहाँ जिल्लाको मुख्य ‘फोकस पोईन्ट’ रास्कोट नै बनाउन पुगे ।
यता संसद वाहिर रहेको नेकपाका र यसका शिर्ष नेताहरुले पनि मुख्य ‘फोकस पोइन्ट’ रास्कोट नै बनाउन पुगे ।
०७९को चुनावको समयमा एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति पूर्णवहादुर खड्का र नेकपा प्रवक्ता प्रकाण्डको रास्कोट सम्वोधनले पनि यो कुराको पुष्टि गर्छ ।
चुनाव पछिको समयमा समेत शिर्ष नेताहरुको दौडधुपले पनि रास्कोट राजनीतिक दलका शिर्ष नेताहरुको मुख्य निसानामा परेको छ । यसलाई सबै राजनीतिक दले ‘फोकस पोइन्ट’ बनाएका छन ।
नेकपाका महासचिव विप्लव ०८१ को फागुन १४ गते र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ०८१ चैत्र ३० गते रास्कोट पुग्नुले पनि ठुलो अर्थ राख्छ । विप्लव सहिद सप्ताहको अवसरमा विशेष जनसभालाई सम्वोधन गर्न रास्कोट पुग्नु भएको थियो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल भने पार्टीको १० औ जिल्ला अधिवेशनलाई सम्वोधन गर्न शनिवार रास्कोट पुग्दै हुनुहन्छ ।
शिर्ष नेताहरुले यसरी रास्कोटलाई ‘फोकस पोइन्ट’ बनाउनु रास्कोटी जनताले सकरात्मक रुपमा लिएका छन । तर रास्कोटी जनताले यो पनि लिएका छन कि शिर्ष नेताहरुले रास्कोटको विकास,समृद्धि र सुशासनको लागि ध्यान दिन नसकेका हुन कि ?
कुन नेता कहिले पुगे रास्कोट ?
१ प्रचण्ड
उहाँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत हुनुहुन्छ । उहाँ अहिलेसम्म ३ पटक रास्कोट पुग्नु भयो । २०७९ को संघ प्रदेशको मंसिर ४ मा भएको चुनाबपछि उहाँ ०७९ पुस ११ गते कांग्रेस माओवादीको गठबन्धबाट प्रधानमन्त्री समेत बन्नु भयो । उहाँ २०७९ को संघ र प्रदेशको चुनावी सभामा सम्वोधन गर्न कार्तिकमा रास्कोट पुग्नु भयो । त्यस्तै स्थानीय तहको चुनावको बेला २०७९ बैशाखमा समेत उहाँ रास्कोट पुग्नु भयो । २०७७ असोज १३ गते पनि पार्टी कार्यक्रमको शिलशिलामा उहाँ रास्कोट पुग्नु भएको थियो ।
उहाँले रास्कोटमा विकास,समृद्धि र सुशासनको कुरा जोडदार राख्नु भयो । माओवादीले जितेमा सिंहदरवारको सुविधा गाउँसम्म पुर्याउने आश्वासन दिनु भयो । तर त्यो केवल आश्वासनमा सीमित भयो । संघ,प्रदेश र नगरपालिकामा हरेक पटक माओवादीले नै जित्दा पनि भनेअनुसार कामहरु भएन । उल्टै जनतामा निरासा पैदाहुने कामहरु भए । पार्टी कार्यकर्ता भित्रै निरासा पैदा हुने कामहरु भए । पहुच र पावरका कुराहरु पार्टी भित्रै लागु भए । जसले गर्दा जनतामा वास्तविक सेवा पुग्न सकेन र निरासा पुग्यो ।
२ पूर्ण बहादुर खड्का
उहाँ नेपाली कांग्रेसको उपसभापति हुनु हुन्छ । उपसभापति खड्का २०७९ सालको संघ र प्रदेशको चुनावी सभालाई सम्बोधन गर्न कार्तिकमा प्रचण्डसंंगै रास्कोट पुग्नु भयो । उहाँले चुनावी सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसले रास्कोटको विकास गर्ने बचन दिनु भयो । रास्कोटी जनताको भोट समेत माग्नु भयो । जसका कारण नेपाली कांग्रेसले प्रदेशसभामा हिक्मत विष्टलाई जिताउन सफल भयो । माओवादी केन्द्रसंग गठबन्धन गरेको कांग्रेसले चुनाव जिते पनि चुनाबी बाचाहरु भने पुरा गर्न सकेन ।
त्यसपछि पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश संसदीय दलका नेता एवम नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवन वहादुर शाही पनि २०८१ पुस ९ गत रास्कोट पुग्नु भयो । विशेष अभियान कार्यक्रम लिएर रास्कोटमा जनसभालाई सम्वोधन गर्नु भयो । उहाँका आश्वान पनि जनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मान’ जस्तै भए ।
३ केपी शर्मा ओली
उहाँ नेकपा एमालेका अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री हुनुहुन्छ । अध्यक्ष ओली २०७९ को संघ प्रदेशको चुनाबी सभालाई सम्वोधन गर्न कार्तिक २८ गते रास्कोट पुग्नु भयो । सभामा सम्वोधनका क्रममा रास्कोटमा नेकपा एमालेले विकास गर्ने र भोट एमालेलाई दिन आग्रह गर्नु भयो । उहाँले रास्कोटमा पनि विकास,सुशासन र समृद्धिका लागि नेकपा एमाले जनताको साथमा रहेको वचन दिनु भयो । उहाँ आज आफै देशको प्रधानमन्त्री हुनुहुन्छ । तर रास्कोटको विकासमा उहाँको कुनै ध्यान पुगेको छैन ।
४ विप्लव र प्रकाण्ड
नेकपाका महासचिव विप्लव सी कृषि क्रान्तिको उत्पादन अभियानमा कर्णाली पुग्नु भयो । जुम्ला र कालिकोटको फोईमा स्याउ रोपन गरेर २०८१ फागुन १४ गरे रास्कोट पुग्नु भयो । जुन दिन सहिद सप्ताहको पहिलो दिन पनि थियो । त्यही दिन नेकपा कालिकोटले रास्कोटमा विशाल जनसभाको आयोजना गरेको थियो । जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव रास्कोट पुग्नु भएको हो । उहाँले रास्कोटमा विकासका धेरै कुरा गर्नु भएनन । बरु सिप्टीमा स्याउ लगाउन रास्कोटवासीसंग सहकार्य गर्ने बचन दिनु भयो । उहाँले पुँजीवादी दलाल संसदीय व्यवस्थाले जनताको सोचे जस्तो विकास गर्न नसक्ने बताउनु भयो । दलाल पुँजीवादी व्यवस्थालाई उल्ट्याएर समाजवादी गणतन्त्र देशमा ल्याउन रास्कोटवासी जनतालाई अपिल गर्नु भयो । उहाँले आफ्नो पार्टी सत्तामा नभएकाले रास्कोटको विकास यहि व्यवस्थाबाट गर्न नसकिने इमान्दार जवाफ दिनु भयो । विकासका लागि आवश्यक पहल गर्ने आश्वासन भने दिनु भयो ।
यसअघि नेकपाका प्रवक्ता प्रकाण्ड सी पनि २०७९ बैसाखमा स्थानीय तहको चुनावी सभामा सम्वोधन गर्न रास्कोट पुग्नु भएको थियो । जतिवेला नेकपा स्थानीय तहको चुनावमा भाग लिएको थियो । तर नेकपाले चुनावी परिणाम सोचे जस्तो गर्न सकेन ।
५ माधवकुमार नेपाल
उहाँ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री हुनुहुन्छ । उहाँ रास्कोटमा पहिलो पटक २०८१ सालको चैत्र ३० गते आजैको दिन रास्कोट पुग्दै हुुनुहुन्छ । उहाँले कालिकोटको पार्टीको १० औं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै हुनुहुन्छ । रास्कोटलाई उहाँले पनि विकास,सुशासन र समृद्धिका लागि आफू सदैभ तयार हुने बचन दिनु हुने पक्का नै छ । अरु राजीतिक कुरा पनि गर्नु हुनेनै छ ।
‘फोकस पोइन्ट’ भित्र राजीतिक लाभ कि विकास ?
‘रास्कोट आफैमा महत्वपूर्ण नगरपालिका हो । यहाँ चुनाव जित्नु पुरै जिल्लाभरी जिते सरह मानिन्छ । जसले गर्दा रास्कोट राजनीतिको ‘फोकस पोईन्ट’ बन्दै जानु हो । शिर्ष नेताहरुको ध्यान पनि रास्कोटमा जानु अनौठो होईन’ नेकपाका रास्कोट नगर इन्चार्ज निर्देशन सी बताउनु हुन्छ ।
रास्कोटी जनताहरु शिर्ष नेताहरुले रास्कोटलाई बनाएको ‘फोकस पोईन्ट’बाट सुरुवाती समयमा आसावादी हुदै खुसी नै थिए । तर पछिल्लो समयमा नेताहरुको भनाई र गराईमा आकास पातलको फरक देख्दा विस्तारै वितृष्णामा परिणत हुन थालेका छन । जनता ‘जुन जोगी आए पनि कानै चिरियाको’ भन्नसम्म भ्याएका छन ।
विशेषगरी सत्ता केन्द्रीत संसदवादी दलहरुको गतिविधिले जनता बाक्क दिक्क भएका छन । चारैतिर अनियमिता देख्छन । योजनाहरु अलपत्र छन । भ्रष्टहरुको राज भएको छ । कमिशनको खेल भएको छ । स्थानीय तहमा आफन्तहरुको भर्ति केन्द्र भएको छ । जसले गर्दा रास्कोटवासी जनता असन्तुष्ट भएका हुन ।
‘रास्कोटको नमुना वस्ति गाईगोठ भएको छ । करोडौ राज्यको रकम दुरुपयोग भएको छ । कभर्ड हल, खानेपानी, सडक,स्वास्थ्य संस्था, विद्यालय, कुलो, थोपा सिचाँई, केतु उद्योग अलपत्र छन । कृषि उत्पादनमा जोड छैन । आफ्नालाई काँखि च्याप्ने अरुलाई पाखा लगाउने नीति नगरसरकारले गरिरहेको छ । जसका कारण रास्कोटमा विकास होईन भ्रष्टहरुको राजनीतिक लाभको केन्द्र रास्कोट बनेको छ’ एक स्थानीयले भनेका छन ।
स्थानीयले नेताहरुले गुलियो नारा भित्र जनतालाई भुल्याउने गरेको आरोप लगाएका छन । पहिलो प्राथमिकतामा नेताहरुले विकास भन्दा पनि राजनीतिक स्वार्थ केन्द्रीत लाभको राजनीति गरिरहेको गुनासो गरेका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३ पटक रास्कोट पुग्नु भयो । अहिलेसम्म धेरैजसो संघ,प्रदेश र स्थानीय तहमा माओवादी केन्द्रले जितेको छ । जनता माओवादीको पछिल्लो व्यवहारले असन्तुष्ट छन । सबै भन्दा वढी अनियमिता माओवादी केन्द्रका नेताहरुमा देखिएको माआवादी केन्द्र भित्रकै एक नेताहरुले बताएका छन ।
रास्कोटमा संघीय सांसद महेन्द्र बहादुर शाही र नगरप्रमुख धर्मराज शाहीले पार्टीको भिजन अनुसार काम नगर्दा र व्यक्तिगत स्वार्थ केन्द्रीत काम गर्दा सबैभन्दा बढी समस्या आएको माआवादी केन्द्रभित्रकै ती नेताले नाम नभन्ने शर्तमा खुलासा गरे ।
रास्कोटमा सत्ताको लाभ सबै भन्दा बढी माओवादी केन्द्रले लिएको छ । ०७४ को चुनावमा माओवादी केन्द्रले नगरप्रमुख,उपप्रमुख सहित ६ वटा वडा जित हात पार्यो भने ०७९ को चुनावमा नगरप्रमुख,सहित ७ वटा वडामा जित हात पार्यो ।
तर पनि रास्कोटमा विकासको गति भनेजस्तो छैन । जसरी पनि चुनाव जित्ने र जसरी पनि पैसा कमाउने योजनामा माओवादी भित्रका चुनाव जितेका जनप्रतिनिधिहरु केन्द्रीत भएको आरोप लाग्ने गरेको छ । यसरी रास्कोट विकास,सुशासन र समृद्धितिर जान नसक्ने एक वुद्धिजीवीले बताएका छन ।
नेपाली कांग्रेसले ०७९ को स्थानीयतहको निर्वाचिनमा रास्कोटमा एउटा वडा जितेको छ । तर उसले पनि राजनीतिक लाभ मात्र लिने गरेको आरोप छ । कांग्रेसले ०७९ को निर्वाचिनमा प्रदेश सांसद समेत जितेको छ । कांग्रेसले समेत भनेअनुसार जनताको विकासको लागि काम गर्न सकेको छैन ।
यस्तै नेकपा (एकीकृत समाजवादी)ले ०७९ को निर्वाचनमा रास्कोटमा उपमेयर सहित एक वडाअध्यक्ष जितेको छ । उसको पनि गति अरुको भन्दा फरक छैन । उसको कामबाट पनि जनता सन्तुष्ट हुन सकेका छैनन् ।
नेकपा एमालेले ०७४ को स्थानीय चुनावमा ३ वटा बडामा जित हाशिल गर्यो । तर ०७९ को चुनावमा लाभ लिन सकेन । उसले पनि जनतामा नारा गुलियो र काम भुलियोको नीति लागु गरेको स्थानीयको आरोप छ । एमालेले पनि जनतालाई दिएको बचन अनुसार काम गर्न नसकेको रास्कोटवासीको बुझाई छ ।
एमाले अध्यक्ष ओली आफ्नो राजनीति साख जोगाउन राष्कोट पुगेको भएपनि विकासको लागि नभएको रास्कोटवासीले गुनासो गरेका छन । जुनकुरा अध्यक्ष ओली प्रधानमन्त्री हुदा पनि लुकाउने ठाउँ छैन ।
यता सत्ता वाहिर रहेको विप्लव नेतृत्वको नेकपा पनि बैकल्पिक राजनीतिक शक्तिको रुपमा जनतासम्म पुग्ने कोशिस गरेको छ । जनताले समेत नयाँ विकल्प खोजेको बेला नेकपा विकल्पको शक्ति बन्ने प्रयासमा छ । नेकपासंग स्पष्ट राजनीतिक भिजन सहितको इमान्दार श्रमसंग जोडिएको नेता जनताले देखेका छन । जसलाई जनताले मनपनि पराएका छन ।
किनकि नेकपाका महासचिव विप्लव कहिले जुम्लामा स्याउ रोप्न पुग्नु हुन्छ भने कहिले कालिकोटमा भेडा पालन उद्घाटन गर्नु हुन्छ । अनि कहिले तराईमा धान रोप्न व्यस्त हुनुहुन्छ भने कहिले मञ्चमा जनतालाई भाषण समेत दिनु हुन्छ । यस्तो नेता नेपाललमा कोही पनि छैन । त्यसैमा समाजवादी क्रान्तिको तयारी समेत गरिरहनु भएको छ । समाजवादी मोर्चाको नेतृत्व पनि गरिरहनु भएको छ ।
विप्लवले श्रम नगर्ने नेता र पार्टी कम्युनिष्ट पार्टी हुनै नसक्ने ठोकुवा समेत गरिरहनु भएको छ । जुनकुरा सबैका लागि अनुकरणीय पनि छ ।
तर जनताले भने नेकपालाई तुरुन्तै पत्याईहाल्ने अवस्था अझै बनेको छैन । जसलाई चिर्न नेकपाका महासचिव विप्लव फागुनमा रास्कोट नै पुग्नु पर्यो । उहाँले रास्कोटको लेकमा स्याउ लगाउने र उत्पादन वृद्धिगर्ने नेकपाको योजनामा साथ दिन अपिल गर्नु भयो । यो उहाँको विकासको नयाँ मोडल र योजना हो । यसलाई रास्कोटवासीले स्वागत नै गरेका छन ।
यसअघि ०७९को वैसाखमा नेकपाका प्रवक्ता प्रकाण्ड पनि रास्कोट पुग्नु पर्यो । नेकपाप्रति जनताको आसा र अपेक्षा बढदै गएको देखिएपनि त्यो संगठित रुपमा व्यक्त भएको थिएन । छोटो समयको चुनावी तयारीमा भाग लिएको नेकपालाई जिताउन रास्कोट पुगेपनि नेकपा सफल भएन । त्यसबाट नयाँ शिक्षा लिएर नेकपा पनि सुरुमा राजनीतिक पहुच विस्तार गर्दै अगाडि बढने योजनामा छ ।
नेकपा सत्ता र शक्तिको पावरमा पुगेपछि जनताको विकास, सुशासन र समृद्धिको काम के कसरी गर्छ त्यो भने रास्कोटवासीले हेर्न वाकी नै छ । आखिर नेताहरुले रास्कोटलाई जसरी राजनीतिको ‘फोकस पोइन्ट’ बनाएका छन त्यसरी नै सुशासन,समृद्धि र विकासको ‘फोकस पोईन्ट’ बनाउन रास्कोटवासीको आग्रह छ । ताकि ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ नहोस र विग्रेको नेपाली राजनीतिको मियो पनि समयमै सुधारिहोस रास्कोटवासीको सुझाव छ ।