रास्कोट नगरपालिकामा व्यापक अनियमिता, वेरुजु बढेर २१ करोड ४५ लाख १७ हजार पुग्यो

२९ जेठ, कालिकोट । रास्कोट नगरपालिकामा आर्थिक बर्ष २०८०।०८१ मा पनि व्यापक अनियमिता भएको खुलासा भएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखा परिक्षण प्रतिवेदनमा यस्तो खुलासा भएको हो ।

स्थानीय सरकारले गर्ने खर्च मित्तव्ययी नहुदा आर्थिक बर्ष २०८०।०८१ मा पनि नगरपालिकाको वेरुजु रकम उकालो चढेको उल्लेख छ । वेरुजु रकम उकालो चढनु नै व्यापक अनियमिता भएको लेखापरिक्षण प्रतिवेदनले औल्याएको छ ।

सरकारी लेखा परिक्षण प्रतिवेदनले नगरपालिकाको आर्थिक बर्ष २०८०।०८१ मा मात्र २ करोड,६ लाख, ८० हजार ६ सय ५७ रुपैया वेरुजु देखाएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७९।०८० सम्म नगरपालिकाको वेरुजु रकम १९ करोड ३८ लाख ३६ हजार पुगेको थियो ।

नगपालिकालिकामा त्यसको सुधार होईन वेरुजु रकम थप उकालो देखिएको छ । आर्थिक बर्ष २०८०।०८१ को मात्र २ करोड,६ लाख, ८० हजार ६ सय ५७ रुपैयाको वेरुजु अघिल्लो बर्षमा जोड्दा नगरपालिकाको कुल बेरुजु बढेर २१ करोड ४५ लाख १६ हजार ६ सय ५७ पुगेको छ ।

महालेखा परिक्षणको प्रतिवेदनले आर्थिक बर्ष २०८०।८१ को बेरुजु रकममा नियम विपरित करार कर्मचारी राखि तलव खुवाएको, नियम विपरित पत्रपत्रिकालाई मोटो रकम भूक्तानी दिएको, नियम विपरित सवारी साधन मर्मत खर्च गरेको देखि भात खाएको खर्चसम्म बेरुजु देखाएको छ ।

प्रतिवेदनमा पालिकाले पेश गरेको प्राप्ती र भुक्तानीको एकिकृत वार्षिक प्रतिवेदन म.ले.प. फा.नं २७० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको रु १४ करोड ७८ लाख ३७ हजार पनि समावेश नगरिएको भन्दै कमजोरी औल्याएको छ ।

महालेखाको लेखापरिक्षण प्रतिवेदनले आर्थिक बर्ष २०८०।८१ को १ अर्व १५ करोड ७४ लाख ७८ हजारको लेखापरीक्षण गरिएकोमा रु २ करोड ६ लाख ८० हजार ६ सय ५७ बेरुजू देखिएको जनाएको हो ।

असुल गर्नुपर्ने रु २३ लाख ४५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु १ करोड ५१ लाख ७२ हजार, नियमित गर्नुपर्ने रु १४ लाख १३ हजार र पेस्की बाँकी रु १७ लाख ५१ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

लेखापरीक्षण प्रतिवेदनले नगरपालिकाको स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, लक्ष्य अनुसार असुली नभएको, कर्मचारीको दरबन्दी अनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवाप्रवाहमा असर परेको, अनुदानको पर्याप्त अनुगमन नभएको, खरिद कार्यको अभिलेख नराखेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका कमजोरीहरु औल्याएको छ ।

प्रतिक्रिया दिनुहोस