२७ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सहित ४ कम्युनिष्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताका नाममा पक्राउ पूर्जी जारी गरेको विरुद्ध नेपाल वन्द सहित संघर्षको कार्यक्रम घोषणा गरेका छन ।
चार पार्टीको सुक्रवार बसेको वैठक पछि संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै भाद्र ७ गते नेपाल वन्द गर्ने गरी अन्य संघर्षका कार्यक्रम घोषणा गरिएको हो ।
चार पार्टीेले घोषणा गरेका संघर्षका कार्यक्रमहरुमा भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोध सभा गर्ने ,काठमाडौँ उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा गर्ने ,भाद्र ६ गते देशव्यवपी मशाल जुलुस गर्ने र भाद्र ७ गते नेपाल बन्द गर्ने रहेका छन ।
जारी बिज्ञप्तिमा देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता गरेको ,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उल्लंघन गरेको, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको र महङ्गी र भ्रष्टाचार चरम मौलाएको र यस विरुद्ध चार दलले चरणवद्ध संघर्ष गर्दै आएको उल्लेख गर्दै सरकार भने गैरजिम्मेवार भएको दावी गरिएको छ ।
चार दलले राज्यको गलत रवैयाको कडा रुपले निन्दा गर्दै यथाशिघ्र एमसीसी, एसपीपी, पक्राउ पुर्जी र झुठ्ठा मुद्दाको खारेजी गरि,सम्पूर्ण बन्दीको रिहाई सहित आकासिदो महङ्गी नियन्त्रण गर्न माग गरेका छन ।
विज्ञप्तिमा भनिएको छ “राज्य आतङ्क , राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामीसंग जनजागरण, जनहस्तक्षेप र जनसंघर्ष गर्नुबाहेक अर्को विकल्प छैन । तसर्थ राज्य गलत बाटोमा हिड्ने जुन मूर्खता गरिरहेको छ त्यसलाई रोक्न चार कम्युनिष्ट पार्टीले जनसंघर्षका कार्यक्रमहरु घोषणा गरेका छौँ । घोषित जनसंघर्षका कार्यक्रमहरुलाई पूर्ण सहयोग र समर्थन गरी जनविरोधी राज्यको हर्कतलाई परास्त गर्न हामी सम्पूर्ण प्रगतिशील, वामपन्थी, देशभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुलाई हार्दिक आग्रह गर्दछौं ।”
जारी विज्ञप्तिमा जनताका मुद्धाहरुको बेवास्ता गरिएमा थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने चेतावनी समेत दिएको छ ।
विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले हस्ताक्षर गर्नु भएको छ ।
विज्ञप्तिको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस