एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो ः भीम रावल

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्छ भनेर नभनेको बताउनु भएको छ ।

आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत उहाले लगाउनु भएको छ ।
आज रावलले ट्वीटरमा लेख्दै भन्नु भएको छ , ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

रावलले थप लेख्नु भएको छ ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’

शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिनु भएको समाचारहरु आएका थिए ।

यद्यपि रावलले सुरुदेखि नै एमसीसी हुबहु पारित गरे राष्ट्रघात हुने भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने अडान राख्दै आउनु भएको छ ।नेकपाको स्थायी कमिटीको बैठकले पनि एमसीसी परिमार्जन सहित पारित गर्नुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस