विप्लवले सम्वोधन गर्ने एमसीसी विरुद्धको जनसभाको सम्पूर्ण तयारी पूरा

२७ भाद्र,काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध सोमवार (भदौ २८ गते) काठमाडौँको खुल्ला मञ्चमा गर्ने भनिएको बृहत जनसभाको सम्पुर्ण तयारी पुरा भएको छ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्नुहुनेछ ।

खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जानकारी दिनु भयो । २० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि आईतवार मञ्च सजाउन लागिएको नेता लामाले बताउनु भयो ।

काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेको नेकपाले जनाएको छ ।

सोमवार बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने नेकपाको केन्द्रीय सचिवालयले जनाएको छ ।

एसीसीविरुद्ध देशभर साताव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपाले २८ गतेको जनसभालाई विशेष महत्वका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको कार्यक्रम बनाउने नेता माइला लामाले वताउनु भयो ।

यो कुनै पार्टी विशेषको कार्यक्रम मात्र नभएर एमसीसीको विरुद्धमा लाग्ने सबै देशभक्त, राष्ट्रप्रेमि र राष्ट्रिय स्वाधिनताको पक्षमा लाग्ने स्वाभिमानी नेपाली नागरिकहरुको कार्यक्रम भएकाले सम्पूर्ण देशभक्ति शक्तिहरु र नागरिकहरुलाई उपस्थित हुन नेकपाले अपिल गरेको छ ।

प्रचारप्रसार तथा प्रकाशन विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन‘ले पनि यो कार्यक्रम नेकपाको मात्र नभएर राष्ट्रिय स्वाधिनताको आन्दोलन समेत भएकाले सम्पूर्ण देशभक्ति, राष्ट्रप्रेमि प्रगतिशील शक्तिहरु र देशको स्वाधिनता रक्षा गर्ने नागरिक र मिडियाकर्मीहरुलाई जनसभामा सहभागि हुन आह्वान गर्नु भएको छ ।

देशमा यतिबेला सत्ता र सरकारमा रहेका केही शासकहरु एमसीसी पास गराउन विभिन्न चलखेल र षड्यन्त्र गरिरहेका छन् भने अर्कोतिर एमसीसी खारेजीको लागि देशभक्ति, राष्ट्रवादी शक्तिहरु, पार्टीहरु, नागरिकहरु सडकमा दिनहुँ आन्दोलित गरिरहेका छन् ।

नेकपाले लामो समयदेखि एमसीसी खारेजीका लागि, राष्ट्रिय मुक्तिका लागि र देश र जनताको स्वाधिनताका लागि सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ । एमसीसीकै विरुद्ध साताव्यापी नेकपाले देशव्यापी आन्दोलनको कार्यक्रम अन्तरगत विरोध प्रदर्शन, कोणसभा, एमसीसी सम्झौता पत्र समेत जलाइसकेको छ ।

नेकपाका सबै जनवर्गीय सङ्गठन, मोर्चाहरू, देशभक्त, राष्ट्रप्रेमी नागरिकहरु एमसीसीविरुद्ध सडकमा आन्दोलित भइरहेको बेला सोमवार हुन गइरहेको यो जनसभाको विशेष महत्व हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस