२६ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशनको बन्दसत्र आजदेखि सुरु भएको छ ।
बन्दसत्रमा सहभागी प्रतिनिधि, पर्यवेक्षकहरु माझ महासचिव विप्लवले १०२ पृष्ठ लामो राजनैतिक प्रतिवेदन र पार्टीको विधान पेश गर्नु भएको छ । राजनैतिक प्रतिवेदन र विधान महासचिवका तर्फवाट केन्द्रीय सदस्य ध्रुवले हलमा वाचन गरिरहनु भएको छ ।
वन्दसत्रको अध्यक्षता ग्रहण गर्दै महासचिव विप्लवले ऐतिहासिक अभिभारा पूरा गर्न यो महाधिवेशन सफल हुनेछ भन्दै सोही जिम्मेवारीका साथ महाधिवेशनमा सहभागी बन्न अपिल गर्नु भएको छ
अहिले ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्य रूपले सफल पारौँ ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौँ !! भन्ने नारा रहेको राजनीतिक प्रतिवेदन र पार्टीको विधान प्रतिनिधि पर्यवेक्षक माझ हात हातमा छ । बन्दसत्रमा देशभर तथा प्रवासबाट गरि साढे सात सयको संख्यामा प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी रहेका छन् ।
असोज ३१ गतेसम्म चल्ने महाधिवेशनमा नेकपाले ‘एकीकृत जनक्रान्ति’ लाई केन्द्रमा राखेर मालेमावादका तीनवटै अंग दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विचारको थप विकास गर्ने, संगठन, राजनीति, संस्कृतिमा पनि थप नयाँ विकास गर्ने र कम्युनिष्ट विचार, आदर्श, मूल्य र मान्यतालाई नयाँ उचाईमा उठाउने उद्घोष गरेको छ ।
राष्ट्रघाती एमसीसी, एसपीपी, महङ्गी, कालाबजारी, भ्रष्टाचारका विरुद्ध जनपक्षिय सङ्घर्षको नेतृत्व गर्दै आइरहेको पार्टीले विचार, राजनीति र सङ्घर्षलाई अझ उचाइमा उठाउँने र त्यसअनुसारको सङ्गठनात्मक तयारी गर्न नवौँ महाधिवेशन गरिरहेको छ ।
नेकपाले नवौँ महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुने वताएको छ ।