अछाममा नेकपा र माओवादी केन्द्रले संयुक्त रुपमा मनाए ‘जनयुद्ध दिवस’

१ फागुन, अछाम । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रले अछामको मुजाबगरमा विशाल जनसभा र बृहत् साँस्कृतिक कार्यक्रम गरी संयुक्त रुपमा ३० औं जनयुद्ध दिवस मनाएका छन ।
नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र रामारोशन गाउँ कमिटीको संयुक्त आयोजनामा जनसभा सहित साँस्कृतिक कार्यक्रम गरी ३० औं जनयुद्ध दिवस मनाईएको हो ।
कार्यक्रममा नेकपा र माओवादी केन्द्रका नेताहरुले सम्वोधन गर्दै जनयुद्धको सपना पुरा गर्न माओवादीहरुको एकता आवश्यक भएको बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले सम्वोधन गर्दै क्रान्ति चाहने र परिवर्तन चाहनेहरुका लागि जनयुद्ध दिवस ठुलो आस्थाको केन्द्र भएको बताउनुभयो ।
उहाँले आजको राज्य व्यवस्था जनयुद्धको उत्पादन भएको भन्दै जनयुद्धलाई कसैले उपहास गर्न नमिल्ने चेतावनी दिनु भयो ।
उहाँले भन्नु भयो ‘जनयुद्ध परिवर्तनकामी जनताको युद्ध हो । यो नेपाली जनताको प्रत्यक्ष सहभागीतामा भएको युगान्तकारी युद्ध हो । यसलाई कसैले पनि सामान्य तरिकाले बुझनु हुदैन । २०५२ साल फागुन १ गते सुरु भई १० वर्षसम्म चलेको जनयुद्धको उपलब्धि नेपालमा गणतन्त्र, संघीयता, समावेशी समानुपातिक राज्य व्यवस्था स्थापना भएको छ ।’

उहाँले जनयुद्धका कारण केही परिवर्तन भएपनि जनताको व्यवस्था आउन अझै वाँकी रहेको भन्दै जनताको सत्ता समाजवादमा मात्र आउने दाबी गर्नु भयो ।
उहाँले नेपालमा दलाल पुँजीवादका विरुद्ध सबै माओवादीहरु एक भएर नेपाली विशेषताको समाजवाद ल्याउने क्रान्तिमा लाग्न अपिल गर्नु भयो ।
कार्यक्रमका अतिथि माओवादी केन्द्रका अछाम जिल्ला ईञ्चार्ज शरदसिंह भण्डारीले जनता आफैले अन्याय अत्याचार बिरुद्ध लडेको जनयुद्ध महान भएको बताउनु भयो ।
उहाँले माओवादीले मात्रै देशको समृद्धि दिनसक्ने बताउदै अब माओवादी घटकहरु एकजुट भएर समाजबादी क्रान्तिका लागि अघि बढनु पर्ने बताउनु भयो ।
पूर्व माओवादी नेता रामबहादुर थापालाई लक्षित गर्दै भण्डारीले थापा सूर्य मुनिको हुस्सु भएको र उनी जेल जानुपर्ने व्यक्ति भएको बताउनुभयो ।

जनसभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री झपट साउद, केन्द्रीय सदस्य दिपक साउद, नेकपाका केन्द्रीय सदस्य तथा अछाम ईञ्चार्ज मिना सी, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लोक बहादुर बोहरा (ज्वाला), प्रदेश कमिटी सदस्य तथा रामारोशन गाउँपालपकाका महिला नेतृ सरस्वती रावल, रामारोशन गाउपालिका वडानमवर २ का अध्यक्ष मीन बहादुर परियारले सम्वोधन गर्नुभएको थियोे ।
वक्ताहरुले माओवादी धार कमजोर बन्दा जनयुद्ध र माओवादी बिरोधीहरु सल्बलाईरहेकाले जनयुद्धका उपलब्धि रक्षा र समाजवादी क्रान्तिका लागि सवै माओवादी घटकहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा रामारोशन गाउँपालिकाका सहिद परिवार, जेलबन्दी र घाइते अपांङ्गहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न कला तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।
नेकपा माओवादी केन्द्र रामारोशन गाउँ कमिटी अध्यक्ष खकेन्द्र साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दल बहादुर साउद (असिम)ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस