कालिकोटको जनतालाई क्रान्तिकारी इतिहासको रक्षा गर्न प्रकाण्डको अपिल

१ फागुन, कालिकोट । नेकपा(माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले कालिकोटका जनतालाई विगतको जनयुद्ध र क्रान्तिकारी इतिहासको रक्षा गर्न अपिल गर्नु भएको छ ।

शुक्रवार ३१ औं जनयुद्ध दिवसका अवसरमा एक भिडियो शुभकामना सन्देश जारी गर्दै प्रवक्ता प्रकाण्डले कालिकोटका जनतालाई विगतको जनयुद्ध र क्रान्तिकारी इतिहासको रक्षा गर्न अपिल गर्नु भएको हो ।

‘यो बेला कालिकोट जिल्लाले विगतमा जसरी आफ्नो वर्ग,समुदाय र देशको पक्षमा ठुलो भूमिका निर्वाह गरेको थियो, यो जिल्लाको क्रान्तिकारी इतिहास छ, जनयुद्धमा अग्रणीय भूमिका छ, त्यसको दृढताका साथ रक्षा गर्नुपर्छ’ उहाँले भन्नु भयो, ‘आफ्नो राजनीति मुद्धाको प्रतिनिधित्व गर्ने आफ्नो नेतृत्व र उम्मेदवारको रुपमा म आएको छु, गाउँ ठाउँमा हिडिरहेको छु, जनयुद्ध र एकीकृत जनक्रान्तिमा खेलेको भूमिकालाई केन्द्रमा राखेर अहिलेको चुनावमा ऐतिहासिक फैसला गर्नु हुने छ, जनु फैसला देश र जनताको पक्षमा, कालिकोट जिल्लाका जनताको पक्षमाहुनेछ ।’

उहाँले जनयुद्धका बेला कालिकोट जिल्लाबाट करिव ५०० र देशभरबाट झण्डै ९ हजारको बलिदान भएको भन्दै सहिदहरुको सपना पुरा गर्न माओवादीलाई जिताउनु पर्ने बताउनु भयो ।

उहाँले जनयुद्ध दिवसको अवसरमा नेपाली राजनीतिका वामपन्थी, सच्चा वामपन्थी, प्रगतिशील शक्ति, नेता कार्यकर्ता र जनतालाई हार्दिक शुभकामना दिदै सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले सहिद परिवारलाई समवेदना दिदै घाईते र वेपक्ता योद्धाहरुलाई सम्मान गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले जनयुद्धमा विशेष उचाई प्राप्त गरेको जिल्ला कालिकोट भएको चर्चा गर्दै यो जिल्लाले अहिले पनि विशेष उचाई हाशिल गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस