१ फागुन, कालिकोट । नेकपा(माओवादी)का प्रवक्ता तथा प्रत्यक्षतर्फका उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले जनताको संविधान बन्न नदिने षड्यन्त्रकै कारण पहिलो संविधान सभाको घाँटी रेटेर हत्या गरिएको बताउनु भएको छ ।
शुक्रवार पूर्वी कालिकोटको चुनावी भेटघाट अभियानका क्रममा तिलागुफाको रावतवाडा,तल्लो नाग्म र नाग्मबजारमा भएका छुट्टा –छुट्टै जनभेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले जनताको संविधान बन्न नदिने षड्यन्त्रकै कारण पहिलो संविधान सभाको घाँटी रेटेर हत्या गरिएको बताउनु भएको हो ।
प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘पहिलो संविधान सभाको घाँटी रेटेर हत्या गरियो, जनताको संविधान बन्न दिएन,हामी जनताको व्यवस्था र संविधानका लागि सड्क संघर्षमा आयौ, दोस्रो संविधान सभामा गएनौ,यो दलाल र साम्राज्यवादीहरुले बनाएका थिए, हामी लगातार १८ बर्षसम्म चुनावमा आएनौ,तर भ्रष्टाचार,कमिशन,एमसीसी जस्ता राष्ट्रघात विरुद्ध निरन्तर लडिरहयौ,यो लडाईमा बढी समय खर्च भयो, जनतामा आउन केही ढिलो भयो, हामी जनतासंग आत्माआलोचित गर्छाै, यतिवेला चुनावमा आएका छौ,जनताका प्रतिनिधि र राष्ट्रवादी नेतालाई जिताउनु होला ।’
उहाँले उत्पीडित वर्ग जाति र क्षेत्रको मुक्तिका लागि माओवादी पार्टी र यसका नेताहरुले जित्नु पर्ने बताउनु भयो ।
‘यो चुनाव देशको स्वाधीनताको रक्षा गर्ने कि ? विदेशीका दलालहरु मार्फत देशको स्वाभिमान गुमाउने ? भन्ने चुनाव हो, यो विगतको भन्दा फरक छ, स्वाभिमान नेताहरुलाई जिताएमा कालिकोटे जनताको फैसलाले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्नेछ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
उहाँले कालिकोटमात्र नभई सिंगो कर्णालीलाई मुक्त गर्न, उत्पीडित वर्ग र जातिहरुलाई मुक्त गर्न नेकपा माओवादी र यसको उम्मेदवारलाई जिताउनु पर्ने विचार राख्नु भयो । कालिकोटका जनताले जनयुद्ध र माओवादी आन्दोलनका सपना पुरा गर्न अरु पार्टीलाई नभई माओवादी पार्टी र गुलाफको फुलमा मतदान गर्न अपिल समेत गर्नु भयो ।