फागुन १, बुटवल । माओवादी जनयुद्धका पूर्वजनमुक्ति सेनाहरूले सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।
उनीहरुले मुलुकमा गणतन्त्र ल्याउन लडेका पूर्वसेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाँच्ने आधार तयार गर्न आग्रह गरेका छन् । पूर्वजनमुक्ति सेनालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको उनीहरुको भनाइ थियो ।
पूर्वजनमुक्ति सेना नेपालको आज बुटवलमा भएको राष्ट्रिय भेला तथा अन्तरक्रियामा आफ्ना माग राख्दै उनीहरुले परिवर्तनका लागि लडेका योद्धाहरु गाँस, बास र कपासका लागि भौँतारिरहेको जनाउँदै सरकारले घोषणा गरेको राहत प्याकेज तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
उनीहरुले मुलुकको परिवर्तनका लागि लडेका सेनालाई अपमानजनक तरिकाले बिदा गरेको जनाउँदै अब सरकारले गरेका सहमति कार्यान्वयन नहँुदासम्म कुनै दललाई समर्थन गर्न नसक्ने भएकाले यथाशीघ्र निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
पूर्वजनमुक्ति सेनाका पाँचौँ डिभिजन भाइस कमाण्डर सन्तोष चौधरीले आफूहरुका मागमा सरकार सकारात्मक भए पनि निर्णय कार्यान्वयन नहुँदा समस्या भएको बताउनु भयो ।
पूर्वजनमुक्ति सेना द्रव्य शाहले पूर्वजनमुक्ति सेनालाई सङ्गठित गर्न संस्थासमेत दर्ता गरिएको जानकारी गराउँदै यसले हितमा काम गर्ने बताउनु भयो ।
पूर्वजनमुक्ति सेनाका तर्फबाट कैलालीकी राजमती अधिकारीले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न माग राख्नु भयो ।
जुम्लाका प्रेमराज गिरीले पटक–पटक सहमति गर्ने तर पालना नभएपछि धोका खाँदै आएकाले राहत प्याकेज दिने सरकारको निर्णय तुरुन्त कार्यान्वयन गर्न आग्रह गर्नु भयो । ‘यदि साँच्चिकै देशको समृद्धि र विकास चाहने हो भने यो निर्णय कार्यान्वयन गरेर आउनुस् हामी सरकारलाई साथ दिन तयार छौँ’, उहाँले भन्नु भयो ।
लुम्बिनी प्रदेशका तर्फबाट टेकबहादुर बोगटीले देशको परिवर्तनका लागि लडेका योद्धा अहिले रोजगारीका लागि सडकमा भौँतारिरहेकाले उचित व्यवस्थापन गर्न माग गर्नु भयो ।
भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पुष्पकमल दाहालले आफ्नो स्वार्थका लागि पूर्वलडाकुको बलिदानीलाई प्रयोग गरेको बताउनु भयो । जनयुद्धको नेतृत्वकर्ता दाहाल नै रहेको चर्चा गर्दै उहाले जनमुक्ति सेनाको समस्यामा खरोरूपमा उत्रन नसक्नु कमजोरी भएको बताउनु भयो ।
भेलामा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले दाहाल–नेपाल पक्ष विकास र समृद्धिको मुद्दा बिर्सिएर सडक सङ्घर्षमा लागेको बताउनु भयो ।
, मन्त्री रायमाझीले भन्नु भयो , ‘क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर रु ३४ हजार भत्ता बुझ्यौँ, करिब रु सात अर्ब घोटाला भएको छ, त्यो पैसा कहाँ गयो ? त्यसको हिसाबकिताब हुनुपर्छ ।’
भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई बुर्जुवा शिक्षाको काम छैन भनी विद्यालयबाट निकालेर जनयुद्धमा समावेश गराएकाले अहिले आफ्नो स्वार्थ पूरा भएपछि लात हान्ने काम गरेको बताउनु भयो ।
मन्त्री भट्टले माओवादी जनयद्धका समयमा पूर्वलडाकुका विभिन्न डिभिजनमा झण्डै रु ६० करोडको अनियमितता भएको खुलासा गर्नु भयो ।