भौतिक विकास मात्रै विकास होइन: नगर प्रमुख शाही

३१ बैशाख, कालिकोट । रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले भौतिक विकास भन्दा महत्वपूर्ण विकास मानविय विकास भएको बताउनुभएको छ । उहाँले भौतिक विकासमा करोडौ रकम खर्च गरेपनि मानविय विकास नहुदाँ सम्म त्यो प्रभावकारी नहुने बताउनुभयो ।

साेमबार आरसिपीमा आयाेजित दलित महिला संघ (फेडा) काे परियोजना समापन तथा हस्तान्तरण कार्यक्रममा बाेल्दै नगर प्रमुख शाहीले यस्तो बताउनु भएको हो ।

उहाँले आम मानिसहरुले समतामुलक र न्यायमुलक रुपमा बाच्न पाइरहेका छन की छैनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले अहिले सम्म भौतिक विकासलाई मात्र विकास भनिरहेका छौ, त्यो भन्दा महत्वपूर्ण विकास मानविय विकास हो ।” नगर प्रमुख शाहीले चेतना अभिवृद्धिका कार्यक्रममा सरोकारवाला निकाय संस्थासँग हातेमालो गरेर अघि बढ्नेमा नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

भौतिक विकासलाई मात्रै विकास मान्दा सामाजिक सवालहरु ओझेलमा पर्ने गरेको उहाँले धारणा व्यक्त गर्नुभयो । ‘जब मानिसको बौद्धिक, नैतिक विकासलाई सवाल बनाइदैन, हाम्रो सामाजिक विकास जहिल्यै पछाडी पर्छ, यसकारण हामी सबै मिलेर समाज परिवर्तनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिकी उप-प्रमुख मिना रावलले फेडाेले दलित महिला र युवाहरूलाई सशक्तीकरण क्षेत्रमा राम्रो गरेको भन्दै धन्यवाद दिनुभयो ।

उहाँले कार्यक्रम देखि कार्यक्रमसम्म नभएर संस्थाहरूले सीमान्तीकृत र पछाडि पारिएको समुदायलाई मुलधारमा ल्याउने कार्यक्रम हुनुपर्ने बताउनुभयो ।

वडा नम्बर ५ का अध्यक्ष मन तिरूवाले नेपालको संविधानले व्यवस्था गरेकाे र सरकारले छुवाछूत मुक्त राष्ट्र घाेषण गरेपनि याे कार्यनयन नभएको बताउनुभयो ।

उहाँले मानव भएर पनि अरू मान्छे सरह बाच्न नपाउनु दुःखद कुरा भएको भन्दै यसको लागि दलित सशक्तीकरण सँगै अर्थपूर्ण सहभागिता गराइनु पर्ने बताउनुभयो ।

परियोजना समापन तथा हस्तान्तरण कार्यक्रममा बाल्दै दलित महिला संघ (फेडाे) की उपाध्यक्ष मन्जु सुनारले नेपालकाे संबिधानले व्यवस्था गरेकाे अधिकार दलित तथा पछाडी पारिएका समुदायले महशुस गर्ने गरि नगरपालिकाले पुर्ण कार्यन्वयन हुनु पर्ने बताउनुभयो ।

उहाँले परियोजना केही समयको लागि भएपनि नगर सरकार सधै रहिरहने भएकाले नगर सरकारले संस्थाले गरेका सकारात्मक कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले मान्छे मर्दा पनि फूलमाला लगाउन जादा विभेद गर्ने गरेको भन्दै विभेद विस्तारै हैन अहिल्यै नै अन्त्य हुनुपर्छ र त्यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

रास्काेट संचालित हाम्रो आवाज, हाम्रो राेजाई परियोजनाले दलित, महिला, युवा तथा समाजमा पछाडी परेका समुदायकाे उत्थानका लागि काम  गरिरहेको छ ।

दलित महिला संघ (फेडाे) कालिकोटकी अध्यक्ष हजा सुनारको अध्यक्षतामा सम्पन्न परियोजना समापन तथा हस्तान्तरण कार्यक्रममा रास्काेट नगरपालिकाका वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख, नागरिक कार्य समुहका सदस्य, दलित महिला संज्यालका सदस्य लगायत सराेकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस