२९ असार, विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ पर्नु भएको छ ।
सोमबार बिहान कार्यालय परिसरमा मृत भेटिनु भएकी महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ पर्नु भएको हो । बानियाँ नेपाल प्रहरीका असई हुनुहुन्छ । पराजुली इलाम इजलासकी कार्यालय सहयोगी हुनुहुन्थ्यो ।
बानियाँ इलाम इजलासमा कार्यरत न्यायाधीश शिवनारायण यादवका सुरक्षागार्ड हुनुहुन्छ । इलाम इजलासका मुख्य न्यायाधीश यादव भने केही दिनयता बिदामा हुनुहुन्छ । यादवकै क्वाटरमा विवाद भएपछि बानियाँले पराजुलीको हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बनियाँले हत्यामा आफ्नो संलग्नता स्वीकार गर्नु भएको छ ।
आइतबार साझाँ भेटघाटका क्रममा विवाद भएपछि असई बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरी परिक्षक श्रेष्ठले वताउनु भयो । हत्या पछि शव झाडीमा फालेको अवस्थामा फेला परेको थियो ।
उहाँले हत्याको कारण अबैध सम्बन्ध र लेनदेनको विवाद भएको जानकारी दिनु भयो ।’ बानियाँ र पराजुली दुवै विवाहित हुन् । उनीहरूबीच अवैध सम्बन्ध रहेको प्रहरीले बताएको छ ।
सोमबार बिहान पराजुलीको शव अदालत परिसरभित्र भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । बानियाँको संलग्नता देखिएपछि उहालाई राति नै पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनु भयो ।
प्रहरीका अनुसार आइतबार बेलुका पराजुलीले बानियाँलाई फोन गरेर भेट्न बोलाउनु भएको थियो । उनीहरुबीच न्यायाधीश क्वाटरमा भेटघाट भएको थियो ।
विदामा रहेका न्यायाधीशको क्वाटरको तालाचाबी बानियाँसँग नै थियो ।
क्वाटर भित्र विवादका क्रममा बलात्कारको मुद्दा लगाउछु भनेपछि घाँटी थिचेर हत्या गरेको बानियाँले बयान दिएको प्रहरीले बताएको छ ।
पराजुलीले लगाएको कानका गहना क्वाटर भित्र भेटिएका थियो । सिक्री भने बानियाँको साथबाट भेटिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस