टिकापुरमा कर्णाली नदी बस्तीमा पस्ने जोखिम

८ साउन, टीकापुर । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो ।

पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने स्थानीयको भनाई छ । नदीले तटबन्ध भत्काएमा टीकापुर पार्कको पहिचान समाप्त हुनेछ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना

रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ ।

पार्क क्षेत्रमा टीकापुर नगरपालिकाले सिँचाइ आयोजनाको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, नेपाल रेडक्रस सोसाइटी, राजनीतिक दलका कार्यकर्ता, बरघर, कुला समितिका उपभोक्ताको सहयोगमा तटबन्ध गर्न थालिएको छ ।

तटबन्धका लागि आवश्यक बोरालगायतका सामग्री सिँचाइ आयोजनाले सहयोग गर्ने, झालापाता, बाँस सामुदायिक वनबाट सहयोग लिने, प्राविधिक जनशक्ति जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्ने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले बताउनु भयो ।

जानकी गाउँपालिका वडा नं ९ स्थित पूर्वी खैरीफाँटा तथा शिवशक्ति सामुदायिक वन नजिक कर्णाली नदी कटान भइरहेकाले टीकापुर नगरपालिका वडा नं १, २, ३, ६ र ७ बाढीबाट क्षतिको जोखिममा छन् ।

पालिकाले सो स्थानमा नदी व्यवस्थापनका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना र जानकी गाउँपालिकालाई अनुरोध गरेको छ ।

जैविक तटबन्धको प्रयासपछि पनि कटान नियन्त्रण नभएमा टीकापुरका नागरिकलाई उद्धार गर्न पालिकासँग उद्धारका सामग्री पर्याप्त मात्रामा नरहेकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग इन्जिनबोट माग गरिएको छ ।

पालिकाले नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै ‘साइरन’ बजाउने, मोबाइलमा ‘म्यासेज’ गर्नेलगायतका कार्य सुरु गरेको छ ।

वर्षा निरन्तर भइरहेकाले आवश्यक कागजात सुरक्षित गर्न, जोखिममा रहेका नागरिक गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई सुरक्षित तथा तयारी अवस्थामा राख्न आग्रह गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस