हनी ट्रयापमा पार्ने भावनालाई १५ महिना कैद सहित ९० लाख क्षतिपूर्ति भराउने फैसला

२८ साउन, काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले भावनालाई सो कैद र क्षतिपूर्तिसहित १५ हजार रुपैयाँ जरिवाना समेत गराउने फैसला सुनाउनु भएको छ ।

अदालतले भावनाले झुक्यानमा पारी आफ्नो नाममा पास गरेको जग्गा पनि फिर्ता हुने फैसला सुनाइएको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले गत साउन १७ गते ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावनालाई दोषी ठहर गर्ने फैसला सुनाउनु भएको थियो ।

सोही इजलासले फुर्वा मोक्तानले हालेको विवाह बदर र भावना तामाङले हालेको वैवाहिक बलात्कारको मुद्दामा भने सफाइ दिएको थियो ।

विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि जापान पुगेर डिभोर्स गर्न दबाब दिनु भएकी भावना तामाङविरुद्ध फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराउनु भएको थियो ।

सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
भक्तपुर जिल्ला अदालतले सुरुमा ‘तत्काल प्राप्त प्रमाणबाट भावना कसुरदार होइनन् भनी भन्न नसकिने’ भन्दै उहाँलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

त्यसपछि जिल्ला अदालतको आदेश नमिलेको भन्दै भावना उच्च अदालत पुगे पनि उच्च अदालतले थुनामा पठाउने भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै भावनालाई थुनामै राख्ने आदेश दिएको थियो ।

आफू थुनाबाट बाहिर निस्कन नपाएपछि भावनाले फूर्वाविरुद्ध वैवाहिक बलात्कारको मुद्दासमेत दायर गर्नु भएको थियो । यद्यपि सो मुद्दामा फुर्वालाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ मा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभका सम्बन्धमा उल्लेख गरिएको छ ।
ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने उल्लेख छ ।

त्यसै गरी सोही ऐनको दफा २५४ मा ठगी गर्ने व्यक्तिले पीडितलाई बिगो बराबरको रकम असुल गरी पीडितलाई भराइदिनुपर्ने व्यवस्था गरिएको छ ।

साउन १७ गते अन्तिम फैसलामा ठगी तथा आपराधिक विश्वासघातमा दोषी ठहर गरिनु भएकी भावना तामाङलाई कसुर निर्धारण गर्ने प्रयोजनका लागि साउन २८ गते आइतबारको पेसी तोकिएको थियो ।

आइतबारको पेसीमा भावनालाई १५ महिना १५ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तथा पीडित फुर्वा मोक्तानलाई सुनसहित कुल ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनाइएको अदालतका सूचना अधिकारीले जनाएका छन ।

फुर्वाले भने आफूलाई झुक्यानमा पारी विवाह गरी १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा हाल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस