कालिकोटमा पनि डेंगुको उच्च जोखिम, २ जनामा संक्रमण

असोज २६, कालिकाेट । कर्णाली प्रदेशको कालिकोट जिल्ला समेत डेंगुको उच्च जोखिममा देखा परेको छ । जिल्लाको राष्कोट नगरपालिका वडा नम्वर ९ निवासी १७ वर्षिय गोकुल न्यौपाने र शुभकालिका गाउँपालिका निवासी प्रेम प्रसाद अधिकारीलाई डेंगु संक्रमण भएको देखिएकाले यो जिल्ला पनि डेंगुको उच्च जोखिममा देखा परेको हो ।

असोज १७ गते स्वास्थ्य सेवा कार्यालय कालिकोटमा चेकजाँच गराउदा न्यौपानेलाई डेंगु संक्रमण भएको पुष्टि स्वास्थ्य सेवा कार्यालय कालिकोटले गरेको छ । न्यौपानेलाई डेंगु संक्रमण भएको देखिएपछि सोही दिन प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकृत कटक महतले जानकारी दिनु भयो ।

न्यौपानेलाई लगातार ५ दिन सम्म ज्वरो आएको र चेकजाँच गराउन जिल्ला स्वास्थ्यमा पुर्याउदा डेंगु संक्रमण भएको थाहा पाएको पारिवारीक श्रोतले वताएको छ ।

यसअघि भदौ २१ गते वाट विरामी परेका जिल्लाको शुभकालिका गाँउपालिका निवासी प्रेम प्रसाद अधिकारीलाई पनि डेंगु संक्रमण भएको थियो । चेकजाँच गराउदा डेंगु संक्रमण देखिएपछि भाद्र २९ गते देखि असोज ३ गते सम्म प्रदेश अस्पताल सुर्खेतमा भर्ना भई उपचार गरिएको थियो ।

संक्रमित अधिकारीले आफु ६ दिन सम्म आइसियुकक्ष, १ दिन इमरजेन्सी र १ दिन एनआइसियुकक्ष गरी ८ दिन सम्म अस्पताल भर्ना भई उपचार गराएको वताउनु भएको छ । असोज ५ गते र १० गते पुनः स्वास्थ्य चेकजाँच गराएको अधिकारीले वताउदै फेरी कार्तिक ४ गते अस्पतालले वोलाएको जानकारी पनि दिनु भयो ।

उहाँले आफ्नो उपचार गराउदै ८० हजार भन्दा वढी खर्च भइसकेको र सरकार वाट कुनै सहयोग प्राप्त नभएको पनि गुनासो गर्नु भयो । उहाँ माथि डेंगु संक्रमणको लक्ष्ण देखिएपछि स्वास्थ्य कार्यालय कालिकोट नगई सिधै प्रदेश अस्पताल सुर्खेत पुग्नु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले भने उहाँको संक्रमण वारे आफुमा जानकारी प्राप्त नभएको वताएको छ ।

हाल संक्रमित न्यौपाने र अधिकारीको स्वास्थ्य अवस्थामा सुधार आएको संंक्रमित दुवै जनाको परिवारले जनाएको छ । डेंगु पिडित अधिकारीले भने डेंगुको उपचार सरकारले पुर्णरुपमा निःशुल्क गर्नु पर्ने माग गर्नु भयो ।

कार्यालयले संक्रमितहरु जिल्ला वाहिर वढी वस्ने भएकाले वाहिर वाटै संक्रमण भएको हुनसक्ने अनुमान गरेको छ । तर पनि जिल्लामा लामखुट्टेहरुको प्रकोप व्यापक रुपमा फैलिएकाले कालिकोटमा पनि संक्रमण नहोला भन्न नसकिने अवस्था रहेको स्थानीयहरुले वताएका छन ।

डेंगु रोग वाट वँच्न लामखट्टेको टोकाई वाट जोगिनु पर्ने, लामखुट्टे नियन्त्रण गर्नु पर्ने, पुरा शरिर ढाक्ने कपडा लगाउनु पर्ने र रात दिन झुल भित्र मात्र सुत्नु पर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन । हाल जिल्लामा यसको संक्रमण फैलिन नदिन विभिन्न जनचेतनामुलक कार्याक्रम संचालन गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकृत महतले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस