क्रान्ति विरोधी तत्वको भ्रममा नपर्न नेकपा प्रवक्ता प्रकाण्डको आग्रह (ताजा भिडियो सहित) अन्तरवार्ता

२७ असोज, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले महासचिव र आफू बीचमा कुनैपनि विवाद नभएको र क्रान्ति विरोधी तत्वहरुले फैलाएको भ्रममा नपर्न आग्रह गर्नु भएको छ ।

विहिवार महाधिवेशन स्थल कपिलवस्तुमा संचारकर्मीसंगको प्रतिक्रियामा प्रवक्ता प्रकाण्डले महासचिव र आफू बीचको एकता झन वलियो देख्दै गएकाले विरोधी तत्वहरुको जलन भएको प्रष्ट्याउनु भयो ।

प्रवक्ता प्रकाण्डले माओको भनाईलाई स्मरण गर्दै भन्नु भयो ‘जतिवेला क्रान्तिकारीहरु राम्रो हुन्छन, त्यतिवेला विरोधीहरुले वेठीक भयो भन्छन, जतिवेला क्रान्तिकारीहरु गलत वाटोमा हुन्छन त्यतिवेला ठीक छ भन्छन ।’
प्रवक्ता प्रकाण्डले यस्तो कुरालाई क्रान्तिकारी सवैले वुझनु पर्ने भन्दै आफ्नो पार्टी विरुद्ध फैलाएको अफवाहको पछि नलाग्न जोड दिनु भयो । प्रवक्ता प्रकाण्डले पार्टी बाट भागेका अवसरवादीहरुले गोयवल्स शैलीलाई पनि उछिनेर भ्रम फैलाउने काम गरेको भन्दै यस प्रति सजक रहन आग्रह गर्नु भयो ।

उहाँले आफू कुनै व्यापारीको निमन्त्रणमा चीन भ्रमणमा नगएको पनि प्रष्ट्याउनु भयो । उहाँले पार्टीको महाधिवेशन ऐतिहासिक महत्वको हुने पनि जिकिर गर्नु भयो ।

विचार विकासको कुरा गर्नु भएको छ नि यो कस्तो हो ? भनि सोधिएको संचारकर्मीको जिज्ञासामा प्रवक्ता प्रकाण्डले विश्व कम्युनिष्ट आन्दोलनको शिक्षा लिदै समाजवादी क्रान्ति पुरा गर्न, रक्षा र विकास गर्न दर्शन,अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा केही नयाँ संश्लेषण गर्न खोजेको प्रष्ट्याउनु भयो ।

नवौ महाधिवेशनलाई विश्वका मित्र क्रान्तिकारी कम्युनिष्ट पार्टी र जनताले खुसीको रुपमा लिएको वताउदै क्रान्तिका विरोधी, अवसरवादी,साम्राज्यवादी तथा दलाल पूँजीवादी जनविरोधी र राष्टघाती तत्वहरुले नेगेटिभ रुपमा लिएको वताउनु भयो ।

उहाँले महाधिवेशन सफलताका लागि चिनियाँ कम्युनिष्ट पार्टी,इटालियन कम्युनष्टि पार्टी लगायतका मित्र पार्टीहरु बाट शुभकामना प्राप्त भएको पनि जानकारी गराउनु भयो ।

प्रकाण्डले महाधिवेशनमा उच्च जनवादको प्रयोग गर्दै महाधिवेशनमा पेश गरिएको राजनैतिक प्रस्ताव,विधान र जाति सम्वन्धि पेश भएको प्रस्ताव माथि २० वटा समूहमा समूहगत छलफल जारी रहेको वताउनु भयो ।

प्रवक्ता प्रकाण्डको यो भिडियो सहित

प्रतिक्रिया दिनुहोस