अख्तियाका पूर्व प्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा


२८ मंसिर, काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
आइतबार अदालतमा हाजिर हुनु भएका उहाँलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिनु भयो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।
उहाँलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।
बस्न्यात अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा मुछिनु भएको थियो । उहाँ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।
अख्तियारले उहाँ सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस