बैसाख १, काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सकले सरकारको आग्रहमा नौ दिनदेखिको आन्दोलन १५ दिनका लागि स्थगित गरेका छन् ।
समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सेवा अवरुद्ध पार्दैै आएका चिकित्सकले शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारलाई माग सम्बोधन गर्न १५ दिनको समय दिन सहमत भएका हुन् ।
‘अध्ययन बिदामा रहेका र विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमतिपछि आन्दोलन स्थगित गरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार आजदेखि मुलुकभरका सरकारी अस्पतालका अवरुद्ध सेवा सुरु भएका छन् ।
वार्तामा १५ दिनभित्र मन्त्रिपरिषद्बाट सहमतिका बुँदा पारित गर्ने सहमति भएको छ । तोकेको समयमा सहमति पालना भए आन्दोलन फिर्ता हुने र नभए पुनः सेवा अवरुद्ध पार्ने असन्तुष्ट चिकित्सकको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस