विप्लव नेतृत्वको नेकपाले सुदूरपश्चिममा थप २७ विगाहमा उत्पादन गर्दै

३१ वैशाख, कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदूरपश्चिम प्रदेशमा थप २७ विगाह जमिनमा कृषि उत्पादनको तयारी थालेको छ ।
नेकपा सुदूरपश्चिम प्रदेशको ‘कृषि उत्पादन तथा व्यापार केन्द्र’को बुधवार रतिपुरमा बसेको बैठकले प्रदेशका विभिन्न ठाउँमा थप २७ विगाह जमिनमा कृषि उत्पादन विस्तार गर्ने निर्णय गरेको हो ।
नेकपाको ‘कृषि उत्पादन तथा व्यापार केन्द्र’ले हाल जिल्लाको रतिपुरमा ५ विगाह जमिनमा कृषि उत्पादन गर्दै आएको छ । नेकपाले यसलाई प्रदेशका विभिन्न ठाउँमा विस्तार गर्ने योजना बनाएको हो ।
नेकपाले बर्खे बालीका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाको बडैपुर र फुलबारी, कञ्चनपुर जिल्लाको झलारी र कृष्णपुरमा थप ४ ओटा नयाँ उत्पादन केन्द्र बिस्तार गरी २७ विगाह जमिनमा कृषि उत्पादन गर्ने निर्णय गरेको उत्पादन केन्द्रका प्रमुख डबल सी (भगतसिंह)ले जानकारी दिनु भयो ।
नेकपाले आत्मनिर्भर पार्टी नेता कार्यकर्ता र जनता विना देश आत्मनिर्भर नहुने र समाजवादसम्म पुग्न पनि नसकिने भन्दै उत्पादन क्रान्तिलाई जोड दिदै आएको छ ।
नेकपाको ‘कृषि उत्पादन तथा व्यापार केन्द्र’ले ‘किसानसङ्ग बिप्लव सी’ शीर्षकमा जेठ २ गते बिहान ८ बजे कैलालीको रतिपुरमा अन्तरक्रिया कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।
नेकपाको ‘कृषि उत्पादन तथा व्यापार केन्द्र’को बैठकले कैलालीको पहलमानपुरमा सी व्यापार केन्द्र स्थापना गर्ने र त्यसको जिम्मेवारी केन्द्रीय सदस्य किरणलाई दिने समेत निर्णय गरेको छ ।
यस्तै बैठकले ’उत्पादन उद्दार कोष खडा गर्ने, उत्पादनमा संलग्न सदस्यहरुका लागि तालिम र भ्रमणको व्यवस्था गर्ने र कृषि बिज्ञ सल्लाहकारको रूपमा गणेश भट्टराईलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
बैठकमा सहभागी सदस्यहरुले उत्पादन सम्बन्धि पार्टीको न्यू इकनमिक ट्रयाक( नेट) सम्बन्धि नीति सफल र प्रभावकारी हुँदै गएको, आगामी बर्खे उत्पादनमा पार्टीसम्बद्ध सबै निकाय परिचालित गर्नुपर्ने र उत्पादन कार्यमा मानवीय श्रमका अतिरिक्त कृषि प्रबिधि र यान्त्रिकीकरण सम्बन्धि योजना बनाउनु पर्ने धारणा राखेका थिए ।
बैठकमा नेकपा स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी (रणबीर)ले नेकपाले सुरु गरेको उत्पादन परम्परागत ढंगको उत्पादन नभएर नयाँ आर्थिक मार्ग सम्बन्धि संलेशणका आधारमा गर्न खोजिएको बताउनु भयो ।
बैठकका प्रमुख अतिथि समेत रहनु भएका नेता भरत सीले उत्पादन अभियान नेकपाको क्रान्ति सम्बन्धि मान्यताको उद्देश्यसङ्ग जोडिएको बिषय भएको भन्दै पार्टीका सबै नेताकार्यकर्ताहरु श्रम र उत्पादनमा अनिवार्य जोडिनुपर्ने भनाई राख्नु भयो ।
बैठक ‘कृषि उत्पादन तथा व्यापार केन्द्र’का प्रमुख डबल सी (भगतसिंह)को अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस