२९ भदौ, जुम्ला । तातोपानी गाउँपालिकालाई बालविवाह अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । सेभ द चिल्ड्रेन र किडार्क नेपालकाे सहयोग तथा तातोपानी गाउँपालिकाकाे आयोजनामा शुक्रबार भएको बालविवाह न्युनिकरणका लागि बाल कचहरी कार्यक्रममा सरोकारवाला निकायले बालविवाह अन्त्यका लागि सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
बालविवाह अन्यका लागि सामूहिक प्रतिबद्धता गर्दै तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले बालविवाह जस्ता सामाजिक कुरीतिको अन्त्य गर्न गाउँपालिकाले कुनै पनि कसुर बाँकी नराख्ने बताइन् । उनले भनिन् ‘गाउँपालिका भित्र बालविवाहको अस्वस्था चिन्ताजनक छ। त्यसैले बाल विवाह, बहुविवाह, छाउपडी प्रथा जस्ता सामाजिक कुरीतिको अन्त्यका लागि गाउँपालिकाले कार्यविधि बनाएर अगाडी बढ्ने छ । यसमा सबैक्षेत्रकाे सहयोगकाे लागि पनि अनुरोध छ ।’
पाउँपालिकाले बालविवाह गरेर विद्यालय छाेड्ने र अपांगता भएका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन आवश्यक पहलकदमी गरिने प्रतिबद्धता जनाइन् ।
उपाध्यक्ष रावलले बालविवाहलाई न्यूनिकरण गर्न पालिकासँगकाे सहकार्यमा किडार्क नेपालले विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै बालविवाह न्युनिकरणमा सहयोग पुर्याएकाे भन्दै यसमा पालिकाकाे पूर्ण सहयोग रहने बताइन् ।
वडा नम्बर २ का वडा अध्यक्ष चन्दमान बुढाले सबैको प्रयासमा बालविवाह अन्त्य सम्भव रहेको बताए । उनले भने ‘अन्य वडाको तुलनामा हाम्रो वडामा बालविवाहको अवस्था अलि जटिल देखिएको छ, यसको न्युनिकरणका लागि हामीले रणनीतिक बनाएर लान्नुपर्छ ।’
वडा अध्यक्ष बुढाले बालविवाह राेक्नकाे लागि जनचेतना जगाउने कुरा त भइहाल्यो, तर बालविवाह गर्ने परिवारलाई सामाजिक रूपमै बहिष्कार गर्ने र भाेजमा समेत सहभागी नहुने गर्दा यसले बालविवाह कमि आउने बताए ।
उनले बालविवाह राेक्न खाेज्याे बालिकाले मरिदिन्छु, मेरो पेटमा बच्चा छ जस्ता कुराले केही जटिलता हुने गरेको भन्दै यसकालाई अभिभावकले पूर्ण रूपमा सहयोग गर्न पनि सबैलाई आग्रह समेत गरे ।
तिताकाेट प्रहरी चाैंकीका निमित्त प्रमुख हवल्दार टंक ओलीले बालविवाह जस्ता सामाजिक कुरीतिका विरुद्धमा अभिभावक नै सक्रिय हुनुपर्ने बताए । उनले भने ‘हामी सरोकारवाला भनेका एक दिन आउँछौ, यस्तो गर्नुपर्छ, बालविवाह गर्दा कानुनी सजाए हुन्छ यस्तो गर्नुहुन्न भनेर जान्छौ तर के गर्दा राम्रो हुन्छ समाजको भलाइ हुन्छ, समृद्ध समाज बन्छ के गर्दा राम्रो हुँदैन भन्ने कुरा तपाइहरूले बुझ्नुपर्छ ।’
अबको दिनमा बालविवाह गराउने र गर्ने अभिभावकहरूलाई तपाइहरूका छोरारोरीले नै प्रहरीको कठधेरामा उभ्याउने भएको हुँदा २० वर्ष भन्दा कम उमेरमा कसैलाई पनि बालविवाह गर्न र गराउन छुट छैन प्रहरी हवल्दार ओलीले भने ‘बालविवाहलाई रोक्न प्रहरीले गर्नुपर्ने भूमिकाको बारेमा हामी पूर्ण प्रतिबद्ध छौँ ।’
किडार्क नेपालका सहयात्रा तेस्रो परियोजनाका परियोजना व्यवस्थापक कृष्ण शाहीले आर्थिक वर्ष २०८०/०८१ काे तथ्यांक हेर्दा एक सय उनान्नब्बे बिवाहामा भएकोमा एक सय बाईस बालविवाह भएको बताए । यीमध्ये पनि ५० जना मात्रै नियमित विद्यालय जाने गरेको र बाँकीले विद्यालय छाडेको उनले बताए ।
उनले बालविवाह गर्नेमा १८ वर्ष मुनिका ६४ जना र २० वर्ष मुनिका ५८ जना रहेको बताए । यसमा पनि वडा नम्बर २ मा १२ बिवाहामा ११ बालविवाह भएको भन्दै याे भयावह अवस्थामा भएको उनले बताए ।
शाहीले बालविवाहको दर घट्नुको सट्टा अझ बढी रहेको भन्दै बालविवाह, छाउपडी जस्ता कुरीतिहरूको अन्यका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै यस्ता सवालहरूमा आफ्नो संस्थाकाे निरन्तर प्रयास रहने प्रतिबद्धता जनाए ।
पारिवारिक दबाब, साथीसंगीको लहलहैमा लागेर, अभिभावकको हेरचाह तथा पालनपोषणको अभावमा, सामाजिक सञ्जाल मोबाइल र इन्टरनेटका प्रयोगका कारण बढी मात्रामा बालविवाह हुने गरेकाले अभिभावक सचेत हुनुपर्ने उनले बताए ।
बाल कचहरीमा बाेल्ने बालबालिकाहरूले बालविवाह र आफूले दैनिक रूपमा विद्यालय र समाजमा भोग्नुपरेका समस्याबारे खुलेर प्रश्न राखेका थिए। बाल कचहरीमा आफ्नो प्रश्न राख्दै बालिका राेजिना परियारले बालविवाह न्यूनीकरणका लागि पालिकाले विद्यालयमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताइन् । उनले महिनावारी हुँदा विद्यालयले दिनमा एउटा मात्रै प्याड दिने र भाेलि नमाग्नु भन्ने जवाफ दिने गरेको भन्दै यसले नियमित विद्यालय जानमा समस्या हुने गरेको बताइन्।
यस्तै अर्की छात्रा धनलक्ष्मी खत्रीले विद्यालयमा व्यवस्थित खानेपानी, सेनेटरी प्याड, छात्रामैत्री शौचालयको नरहेको भन्दै यस्ता आधारभूत आवश्यकता कहिले पूरा हुन्छ भन्दै प्रश्न गरिन । उनले विद्यालयमा साइन्स ल्याब स्थापना गरेको तर प्रयोगमा नआएको भन्दै संचालनमा ल्याउन विद्यालयलाई आग्रह गरिन ।
कचहरीमा बालविवाह, छाउपडी प्रथा, लैंगिक हिंसा, अपाङ्गमैत्री विद्यालय निर्माण, खानेपानी समस्या, ल्याब प्रयोगविहीन, सेनेटरी प्याडजस्ता विषयमा प्रश्न उठेका थिए।
२ नम्बर वडा अध्यक्ष चन्दमान बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण किडार्क नेपालका मनाेसामाजिक परामर्शदाता प्रेमराज सिम्खाडाले गरेका थिए ।