२८ भाद्र,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अगाडि –अगाडि एमसीसी पछाडि –पछाडि एमसिस्टिन ल्याउन अमेरिका लागेको खुलासा गर्नु भएको छ ।
राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले सोमवार काठमाडौँमा आयोजना गरेको विशाल जनसभा लाई सम्वोधन गर्दै महासचिव विप्लवले नेपाललाई कव्जा गर्न एमसीसी संगै सेना र हतियार ल्याउन चाहेको खुलासा गर्नू भएको हो ।
महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने पनि चेतावनी दिनु भयो ।
महासचिव विप्लव भन्नु भयो “नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर दलालहरूविरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना हुनेछ ।” जनताको व्यवस्था स्थापना गर्न र दलाल सत्ताका विरुद्ध आफू जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उहाँले उद्घोष गर्नु भयो ।
नेपाली दलालहरूले आफ्नो निहित स्वार्थका लागि जनताको रगत–पसिना र राज्यको सम्पत्ति लुटेको लागि एमसीसी ल्याउन खोजेको महासचिव विप्लवले आरोप लगाउनु भयो ।
उहाँले देशको सत्ता दोहन गर्नेहरूले क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेको आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर जनताको आन्दोलनमा अङ्कुश लगाउन खोजेको वताउनु भयो ।
जनतामा विश्वास गर्ने र जनताको शक्तिमा टेकेर अगाडि बढेको आफ्नो पार्टी राष्ट्रिय स्वाधीनताका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने भन्दै महासचिव विप्लवले जनताको तागत र क्रान्तिकारी आन्दोलनले यहाँका दलालहरूलाई परास्त पार्ने ठोकुवा गर्नु भयो ।
नेपालमा एमसीसी सम्झौता जबर्जस्ती लादिएको भन्दै विप्लवले यो देश र जनताको हितविरुद्ध रहेकाले तत्काल खारेज गर्नुपर्ने भन्दै उहाँले जुनसुकै मूल्य चुकाएर पनि एमसीसी खारेज नभएसम्म यसका विरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिनु भयो ।
उहाँले भन्नु भयो ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ । एमसीसी जनताका विरुद्ध छ । नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानस्तिान र सिरिया बनाउनेछ । जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ ।’
उहाँले भन्नुु भयो ‘सरकारसँग ३ बुँदे सहमति गरेर हामीले उक्त सहमति इमानदारीपूर्वक पालना गर्याेँ तर राज्यले उक्त सहमति इमानदारीपूर्वक पालना गरेको छैन । अहिलेसम्म हाम्रा साथीहरूका मुद्दाहरू खारेज गरिएको छैन । देशको भविष्य आँखामा सजाएर हिँडेका नेता–कार्यकर्ता र युवाहरूलाई सरकारले दमन गरेको छ । हाम्रो देशका नागरिकलाई जिउँदै महाकाली नदीमा बगाउने शासकहरूका विरुद्ध आन्दोलन गर्दा सरकारले हामीलाई जेलमा लगेर सडाउँछ भने हामी एउटा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ ।’
जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यसलाई नेपाली जनताको बलले परास्त गर्नुपर्ने बताउनु भयो ।
‘अमेरिकी साम्राज्यवादले २१ औँ शताब्दीका नेपाली जनतालाई झुक्याउने कोसिस गर्ने दुस्साहस नगरे हुन्छ’, प्रकाण्डले भन्नु भयो ।
प्रकाण्डले नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिलाउने व्यवस्था जनमतसङ्ग्रहको चुनावमा आउन सबैलाई आग्रह गर्नु भयो । उहाँले राष्ट्रभक्त र देशलाई माया गर्ने सबै शक्तिलाई राष्ट्रियता रक्षाको आन्दोलनमा सहभागी हुन अपिल समेत गर्नु भयो ।