२८ भाद्र,काठमाडौं । नेपालका क्रान्तिकारी कम्युनिष्ट नेता तथा केही वाम वुद्धिजीवीहरुले एमसीसी सम्झौता तत्काल खारेज हुनु पर्ने माग गरेका छन ।
उनीहरुले नेपालका दलालहरुले यो सम्झौतालाई नेपालको संसदवाद अनुमोदन गराएर नेपाललाई अफगानस्तान र सिरीया वनाउन खोजेको आरोप लगाएका छन ।
उनीहरुले नेपालको संविधान भन्दा माथि एमसीसी राखेर विकासका नाममा नेपाललाई अमेरिकी साम्राज्यवादले सैैन्य परेड स्थल वनाउदै सवै हिसावले कव्जा गर्न खोजेको वताएका छन ।
यो राष्ट्रघाती नेपालको राष्ट्रिय स्वाधीनता विरोधी एमसीसी तत्काल खारेज नगरिए कडा आन्दोलन गर्ने क्रान्तिकारी कम्युनिष्ट नेता तथा वामवुद्धिजीहरुले चेतावनी दिएका छन ।
सोमवार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीको खुल्ला मञ्चमा आयोजना गरेको एमसीसी सम्झौता विरुद्धको वृहत विरोध सभालाई सम्वोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट नेता तथा वामवुद्धिजीवीहरुले यस्तो चेतावनी दिएका हुन ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अगाडि –अगाडि एमसीसी पछाडि –पछाडि एमसिस्टिन ल्याउन अमेरिका लागेको भन्दै एमसीसी पुरा राष्ट्रघाती भएको वताउनु भयो । महासचिव विप्लवले नेपाललाई कव्जा गर्न एमसीसी संगै सेना र हतियार ल्याउन चाहेको खुलासा गर्नु भयो ।
महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौता संसदवाट अनुमोदन भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने पनि चेतावनी दिनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यसलाई नेपाली जनताको बलले परास्त गर्नुपर्ने बताउनु भयो । ‘अमेरिकी साम्राज्यवादले २१ औँ शताब्दीका नेपाली जनतालाई झुक्याउने कोसिस गर्ने दुस्साहस नगरे हुन्छ’, प्रकाण्डले भन्नु भयो ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजको विकल्प नभएको वताउनु भयो । उहाँले अमेरिका नेपालको विकास, उन्नति र प्रगतिका लागि नभएर देशको प्राकृतिक स्रोतसाधन लुट्ने उद्देश्यले एमसीसीमार्फत नेपालमा ब्रह्मलुट मच्चाउन आएको बताउनु भयो ।
उहाँले नेपालको हित चाहने हो भने सीधै सहयोग नगरेर किन एमसीसीमार्फत गरेको भनी अमेरिकालाई प्रश्न गर्नु भयो । नेपाललाई अफगानिस्तान बनाउने र नेपालमा टेकेर चीनलाई घेर्ने उद्देश्यले अमेरिका नेपालमा आएको भन्दै उहाँले एमसीसी पारित भएको खण्डमा नेपाल युद्धभूमिमा परिणत हुने चेतावनी दिनु भयो ।
सभामा नेकपा मालेका महासचिव सीपी मैनालीले अमेरिकाले नेपालमा एमसीसीमार्फत आफ्नो सैन्य परियोजना लागू गर्न खोजेको भन्दै यो राष्ट्रघाती भएको बताउनु भयो । उहाँले ‘अमेरिकाले एमसीसीलाई नेपालको संसद्बाट पारित गराई कानुनको रूप दिएर लागू गर्न खोजेको भन्दै यो नेपालको शान्ति, स्वाधीनता र समृद्धि विरुद्ध भएको वताउनु भयो ।
नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले नेपालको एमसीसी राष्ट्रिय स्वाधीनता विरुद्धको योजना भएको वताउनु भयो । उहाँले क्रान्तिकारी र देशभक्त शक्तिहरू एकजुट भई दलीय राजनीतिभन्दा माथि उठेर देश बचाउन अघि बढ्नुपर्ने बताउनु भयो ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको ३ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने पनि उहाँले वताउनु भयो ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी परियोजना देश र जनताको हितमा नभएको बताउनु भयो । अमेरिकी र नेपाली शासकहरूले यसलाई विशुद्ध विकासको नारा दिए पनि यो आईपीएस परियोजनाअन्तर्गतको अमेरिकी सैन्य रणनीति भएको पनि खुलासा गर्नु भयो ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) ले जबसम्म दलाल पुँजीवादी व्यवस्थाको अन्त्य हुँदैन र जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुँदैन, त्यो दिनसम्म नेपालको दलाल पुँजीवादका विरुद्धको आन्दोलन अघि बढिरहने बताउनु भयो । उहाँले देशलाई विदेशीहरूको खेलमैदान बनाउन नदिन देशभक्त क्रान्तिकारी शक्तिहरूले एमसीसी विरुद्ध आवाज उठाउन आहवान गर्नु भयो ।
आईटी आर्मी पार्टीका अध्यक्ष अमर शाहले नेपालका युवाहरूले नै जनताको आफ्नो व्यवस्था स्थापना गर्नको लागि समाजवादी क्रान्ति गर्नुपर्ने बताउनु भयो ।
शाहले देशलाई राष्ट्रघाती सम्झौताबाट बचाउनका लागि सवै सचेत नागरिकहरू एक हुनुपर्ने बताउनु भयो । यदि एमसिसी पारित भएको खण्डमा देशमा आगो बल्ने र सवै सचेत युवाहरू एकजुट भएर आन्दोलनको आधिबेहरी सिर्जना हुने चेतावनी दिनु भयो ।
हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष सुरेन्द्र भण्डारीले एमसीसीवादीहरू देशद्रोही भएको आरोप लगाउनु भयो । एमसीसीलाई देशबाट लखेट्नका लागि संयुक्त आन्दोलन अघि बढाउनु पर्दछ उहाँले भन्नु भयो । उहाँले सबै जनता एकजुट भएर आन्दोलित भएको खण्डमा यो पराजित हुने विश्वास व्यक्त गर्नुृ भयो ।
कार्यक्रमपूर्व काठमाडौँका सुन्धारा, लैनचौर र बबरमहल लगायतका ठाउँबाट जुलुस निस्किएको थियो । कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनले गर्नु भएको थियो भने स्वागत मन्तव्य सचिवालय सदस्य खड्क वहादुर विश्वकर्मा (प्रकाण्ड)ले राख्नु भएको थियो ।