विपिनको शव डिएनए परिक्षणपछि नेपाल पठाउने तयारी हुदै

२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको भनिएको शव डिएनए परिक्षणपछि नेपाल पठाउने तयारी हुदैछ । विपिनको भनिएको शवलाई इजरायली सैनिक अस्पतालमा राखिएको छ ।
सोमबारमात्र अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)मार्फत हमासले विपिनको भनिएको शवलाई बुझाएको थियो । त्यसपछि आईसीआरसीले विपिनको भनिएको शवलाई इजरायली सेनाको जिम्मा लगाएको थियो ।
डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
राजदूत धनप्रसाद पण्डितले भन्नु भयो ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुन्छ । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ ।’
उहाँका अनुसार इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुग्नु भएका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएको थियो । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
त्यसयता विपिनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि हिजो बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव हिजो हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस