हजारौंको सहभागितामा एमसीसीविरुद्ध संसद भवन घेराउ, ७५ जना गिरफ्तार

२८ मंसिर,काठमाडौँ । एमसीसीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित आठ राजनीतिक पार्टी र मोर्चाले आज बानेश्वरस्थित संसदभवन घेराउ गरेका छन ।

काठमाडौँको तीन वटा ठाउँबाट एकै साथ सुरु भएको विरोध प्रदर्शनसहितको र्याली संसद भवन घेराउ गर्न पुगेको हो ।
बबरमहलबाट जुलुस सुरु भई बानेश्वर हुँदै संसदभवन पुग्ने र्यालीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामा, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले गर्नु भएको थियो भने मध्यबानेश्वरबाट सुरु भएको र्यालीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतले नेतृत्व गर्नु भएको थियो ।

त्यसैगरी मिनभवनबाट सुरु भएको जुलुसको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादीका आहुती र नेपाल कम्युनिष्ट पार्टीका नेता नविन लगायतले गर्नु भएको थियो । एमसीसी विरुद्धको प्रदर्शनसहितको सबै जुलुस बानेश्वारस्थित संसदभवन नजिक पुगेर प्रदर्शन गरेको छ ।

यसैबिच मध्यबानेश्वरबाट संसदभवनको ३ नम्बर गेट नजिक पुगेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।


जुलुसमा सहभागी राष्ट्रघाती एमसीसी विरुद्धको प्रदर्शनबाट गिरफ्तार हुनेहरुमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम पुन, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डबल बहादुर शाह, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु मदन केसी, केन्द्रीय सदस्य डिबी चन्द, गोविन्द बिष्ट, लोकेश जोशी लगायत  ७५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । निषेधित क्षेत्र बनाएर प्रहरीले जुलुस रोक्ने र हस्तक्षेपका बाबजुद पनि एमसीसी खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस