महेन्द्रकै पालिकाको कालिकादेवी विद्यालयको भवन नहुदा अवस्था दयनीय

३ फागुन, कालिकोट । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रत्यक्षतर्फका उम्मेदवार महेन्द्र शाहीको आफ्नै पालिकाको एक विद्यालयमा भवन नहुदा विद्यार्थीलाई पठन पाठनको लागि निकै सास्ती खेप्नु परेको छ ।
पचालझरना गाउँपालिकाको वडा नम्वर ६ तोलीभिडको कालिकादेवी आधारभूत विद्यालयको भवन नहुदा विद्यार्थीलाई पठन पाठनको लागि निकै सास्ती खेप्नु परेको हो । वालशिक्षा सहित विद्यालयमा कक्षा ८ सम्मको पढाई हुने गरेको छ । विद्यालयको प्रयाप्त भवन नहुदा कर्कट पाताले घेरवार गरेर हाल विद्यालर्थीहरु पढिरहेका छन ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र संज्यालले विद्यालयका लागि १२ वटा कोठा भएको भवन आवश्यक भएपनि अहिले ६ वटा पक्की र २ वटा कच्ची टिनको भवन भएकाले पढन पाठनमा कठिनाई भएको ज्वाला खवरलाई जानकारी दिनु भयो ।
उहाँले बेला –बेला गाउँपालिका र शिक्षा शाखालाई भवन अभावको कुरा राख्दा पनि कुनै सुनुवाई नभएको गुनासो गर्नु भयो । उहाँले विद्यालयलाई तत्काल ४ वटा पक्की कोठाको आवश्यक भएको बताउनु भयो ।


उहाँले भन्नु भयो, ‘संघीय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको २०७७ सालको १८ लाखको २ कोठा भवन, कर्णाली रोजगारको कार्यक्रमबाट २०७८ सालको १५ लाखको २ वटा कोठाको भवन, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट २० लाखको २ वटा कोठाको भवन छ । यस्तै २०७३ सालमा संघीय अनुदानबाट आएको १३ लाखको २ वटा कोठाको टिनको ट्रष्ट कच्ची भवन छ, अहिले ६ पक्की र २ कच्ची भवन छ, विद्यालयको लागि ४ वटा भवन अति जरुरी छ ।’
उहाँले जेठ असारसम्म बजेट हालिदिने भनेर आश्वासन दिएको बताउदै त्यहाँसम्म बजेट आउने नआउने विश्वास नभएको बताउनु भयो । उहाँले अरु विद्यालयबाट कमिशन खाने गरेको हल्ला सुनेपनि आफुसंग कोही कसैले कमिशन नमागेको खुलासा गर्नु भयो ।


कमिशन नदिएका कारण बजेट नपरेको होकि भन्ने जिज्ञासामा उहाँले भन्नु भयो ‘मैले कसैलाई कमिशन दिदैन । कमिशन दिएर बजेट पनि मागेन । मसंग अरुको कमिशनको प्रमाण छैन ।’
प्रधानाध्यापक संज्यालले पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विद्यालयको समस्यााबारे जानकारी गराउदा एकपटक विद्यालयलाई सहयोग भएको र त्यसयता विद्यालयलाई कसैले पनि नहेरेको टिप्पणी गर्नु भयो ।
पचालझरना गाउँपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवलाल संज्यालले विद्यालयको समस्या भने जस्तै रहेको स्वीकार गर्दै कार्यपालिकाले किन बजेट व्यवस्था नगरेको हो भन्ने कुरा आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले कतिपय बजेटमाथिबाट पठाउने हुदा बजेट किन नपरेको हो भन्ने बारे आफूलाई जानकारी नभएको बताउनु भयो ।
मुख्यमन्त्री हुदा महेन्द्र शाहीले सवै विद्यालयलाई खर र टिनामुक्त छाना बनाउने घोषणा गरेपनि आफ्नै पालिकाको विद्यालयको अवस्था ज्यूका त्यू छ । कालिकादेवी विद्यालयमा अहिले पनि टिनको छाना छ ।
विद्यालय निकै दयनीय अवस्थामा चल्दा पनि शाहीलाई कुनै चासो नभएको स्थानीय जनताले गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस