घुस काण्डमा मुछिएका अख्तियार आयुक्त पाठकले बुझाए राष्ट्रपतिलाई राजीनामा

फागुन ३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव छविन्द्र पराजुलीका अनुसार शुक्रबार दिउँसो शितलनिवास पुगेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।

‘उहाँले राजीनामा बुझाएर जानुभएको छ। स्वीकृत गर्ने/नगर्नेबारे अध्ययन हुँदैछ,’ प्रवक्ता पराजुलीले भने।

पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार बुधबार साँझ नेपालखबर अनलाइनले सार्वजनिक गरेको थियो।

स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उनीमाथि महाभियोगको छलफल अगाडि बढाएको थियो।

केही सांसदहरूले भने उनलाई राजीनामा दिन सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस