राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र विरुद्ध प्रतिवाद गरौंः समाजवादी मोर्चा


२ चैत्र, काठमाडौ । चार दल सहभागी समाजवादी मोर्चा नेपालले राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र विरुद्ध प्रतिवाद गर्न अपिल गरेको छ ।
शनिबार काठमाडौमा पत्रकार सम्मेललनको आयोजना गरी समाजवादी मोर्चा नेपालले राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र विरुद्ध प्रतिवाद गर्न अपिल गरेको हो ।
मोर्चाले राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र विरुद्ध प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादी दिशातिर जानु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको ठोकुवा गरेको छ ।
मोर्चाले संघीयता र गणतन्त्रको रक्षाका लागि यस विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते काठमाडौमा विशाल जनप्रदर्शन सहित जनसभा गर्ने पनि जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा मोर्चाका सदस्य सचिव प्रकाण्ड सीले मोर्चाको एक प्रेस विज्ञप्ति मार्फत आधिकारी धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनस्र्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरू लागिपरेको दाबी गर्नु भएको छ ।
मोर्चाकोे विज्ञप्तिमा यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको उल्लेख गरिएको छ ।
समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको जनाउदै भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाह¦को अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।
मोर्चाले सरकारको गलत रबैयाका कारण जनतामा असन्तुष्टि बढ्दै गएको पनि जिकिर गरेको छ ।
‘अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा सरकार उद्धत रहेको तथा सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी,नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस