समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने होः प्रचण्ड


२ चैत्र, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने भएको बताउनु भएको छ ।
शनिबार समाजवादी मोर्चाद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने भएको बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने गरी मोर्चाले नयाँ सङ्कल्प लिएको जिकिर गर्नु भयो ।
‘ग्रामीण अर्थतन्त्रको विकास कसरी गर्ने, जनताको जीवनमा कसरी परिवर्तन गर्ने त्यसको लागि मोर्चा अगाडि बढेको छ’ उहाँले भन्नु भयो, ‘गणतन्त्र पक्षधरहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।’
अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको र त्यसको छानबिन हुनुपर्ने बताउदै भन्नु भयो,‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भने कुरा पहिलादेखि भन्दै आएको हुँ र त्यो अझै कायम रहेको छ । जनताको भाषा मैले बोलेको हुँ ।’
‘गणतन्त्रमाथि कसैले धावा बोल्छ भने त्यसको प्रतिकार गर्ने हाम्रो कर्तव्य हो’ उहाँले भन्नु भयो, ‘नेपालको इतिहासमा राजतन्त्रलाई अन्त्य गरी जनताको सार्वभौमसत्ता कायम गरिएको छ । जनताको सार्वभौमसत्तामाथि कसैले धावा बोल्यो भने चुप लागेर बस्दैनौँ ।’
उहाँले समाजवादी मोर्चा प्रचण्डका लागि सरकारमा जाने टेको भएको भन्ने गलत हल्ला फैलिएको बताउँदै मोर्चाका लागि प्रतिवेदन तयार गर्न समय लागेका कारण बैठक बस्न ढिलो भएको स्पष्ट पार्नु भयो ।
नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले वंशवादमा शासन चलाएकाहरूबाट देशलाई मुक्त गरी देशलाई समाजवादी गणतन्त्रमा लैजाने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस