पूर्वमुख्यमन्त्री शाही सहित ५ माओवादी नेताको नाममा भ्रष्टाचार आरोपमा अख्तियारमा उजुरी

१ जेठ, कालिकोट । रास्कोट नगरपालिकाका विद्यालयहरुबाट  योजना हालीदिने नाममा अग्रीम कमिशन लिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही सहित ५ जना माओवादी केन्द्रका नेताको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखामा उजुरी दर्ता भएको छ ।

ज्वाला खवरले केही दिनअघि  योजना हालिदिने नाममा अग्रीम कमिशन लिएर भ्रष्टाचार गरेको तथ्य सहित समाचार सार्वजनिक गरेपछि पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही सहित ५ जना माओवादी केन्द्रका नेताको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखामा उजुरी दर्ता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले पचालझरना गाँउपालिका वडा नम्वर ९ घर भएका कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र वहादुर शाही, रास्कोट नपा ६ घर भएका हालका नगरप्रमुख धर्मराज शाही (पोषण), रास्कोट नपा १ घर भएकी तत्कालिन उपमेयर माओवादी केन्द्रका नेतृ मिमसरा वम शाही,  रास्कोट नपा ८ घर भएका माओवादी केन्द्रका स्थानीय नेता भैरे तिरुवा (लाईट) र वडा नम्वर ८ नै घर भएका माओवादी केन्द्रका शिक्षक संगठनका रास्कोट अध्यक्ष उपेन्द्र न्यौपानेको नाममा उजुरी परेको पुष्टि गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले  मिडियामा समाचार प्रकाशित भएपनि आफ्नो कार्यालयको पनि गम्भीर ध्यानाकर्षण भएको जनाउदै घटनाकावारे  छानविन प्रक्रिया सुरु भएको बताएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रास्कोट नगरपालिकाका  उषा आधारभूत,सरस्वती आधारभूत, मंगलादेवी आधारभूत,राईढुङ्गा आधारभूत, पञ्च आधारभूत र रमालमष्टो आधारभूत विद्यालय सहित ६ वटा  विद्यालयबाट २ करोड ६० लाखको योजना हाली दिने  आश्वासन दिएर १ करोड १० को योजना हाली उल्लेखित विद्यालयबाट अग्रीम १८ लाख कमिशन लिएको उजुरी परेको छ ।

उजुरीमा पूर्व मुख्यमन्त्री शाही सहितका ५ जनाले संगठित रुपमा गोप्य कमिशन संकलन टिम बनाएर पैसा असुल गरि भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

उजुरीमा उषा आधारभूत विद्यालयबाट ३ लाख ,सरस्वती आधारभूत विद्यालयबाट २ लाख, मंगलादेवी आधारभूत विद्यालयबाट ४ लाख,  राइढुङ्गा आधारभूत विद्यालयबाट २ लाख , पञ्च आधारभूत विद्यालयबाट ४ लाख र   रमालमष्टो आधारभूत विद्यालय स्युनाबाट ३ लाख गरी १८ लाख कमिशन वापत भ्रष्टाचार गरेको तथ्य पेश भएको छ ।

उजुरीमा रास्कोटका अन्य विभिन्न विद्यालयबाट समेत योजना हालीदिने नाममा चर्को कमिशन रकम असुल गरी भ्रष्टाचार गरेको  दाबी गर्दै उजुरीकर्ताबाट छानविन सहित दोषीमाथि कडा कार्वाहीको माग गरिएको छ । उजुरी कर्ताको नाम भने गोप्य राखिएको छ ।

यस्तो छ अख्तियारमा परेको उजुरी


प्रतिक्रिया दिनुहोस