जेष्ठ १, बाँके । पत्रकार तथा अभियानकर्ताहरुलाई पाँच दिने क्षमता अभिवृद्धि प्रशिक्षक तथा प्रशिक्षण तालिम नेपालगंजमा आईतवार सम्पन्न भएको छ ।
दलित महिला संघ तथा प्लान इन्टरनेशनल नेपालको सयुक्त आयोजना र युरोपियन युनियनको आर्थिक सहयोगमा वैशाख २७ वाट सुरु भएको तालिम ३१ गते सम्पन्न भएको हो ।
तालिममा कर्णाली तथा लुम्विनी प्रदेशका विभिन्न जिल्लाहरुवाट २५ जना प्रशिक्षार्थी पत्रकारहरुको सहभागीता रहेको थियो ।
पत्रकार तथा लेखनमा रुचि भएका कर्णाली प्रदेश र आसपासका क्षेत्रका सामाजिक मुद्दाहरुमा सामाजिक अभियन्ताहरूलाई आधारभुत लेखनका लागि दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।
तालिममा समाचार लेखन, फिचर लेखन, केस स्टडी, प्रोफाईल लेखन अन्तरवार्ता लगायतका विषयमा विधागत जानकारी गराईको छ ।
यस्तै तालिममा पत्रकारीतालाई नीति निर्माण तहसम्म कसरी पुर्याउने, पत्रकारको कार्यक्षेत्र, कर्तव्य एवम् सीमाबारे सचेतना अभिवृद्धि कसरी गराउने, पत्रकारिताको सामाजिक उत्तरदायित्वका बारेमा पत्रकार र सामाजिक अभियन्ता दुबैलाई कसरी जानकारी तथा बोध गराउने भन्ने विषयमा पनि सहजिकरण गरिएको थियो ।
तालिमको समापन कार्यक्रममा तालिममा सहभागीहरुले तालिम निकै महत्पूर्ण भएको प्रतिक्रिया दिएका थिए ।
प्रशिक्षार्थी पत्रकार खडाचन्द अधिकारीले कालिकोट लगायतका जिल्लामा व्यापक वालविवाह हुने गरेको भन्दै त्यस्ता विषय न्यूनिकरणका लागि आफ्नो कलम चल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले तालिम निकै नयाँ र महत्पूर्ण भएको पनि वताउनु भयो ।
तालिममा सहभागी पत्रकार कमला विकले रेडियो पत्रकारिताका माध्यमवाट रेडियो कार्यक्रम उत्पादन गर्दा होस वा समाचार र अन्य कार्यक्रम चलाउदा होस दलित समुदायका मुद्धाहरुलाई प्राथमिकताका साथ उठाउने र समाजिक रुपान्तरणमा योगदान पुर्याउने प्रतिवद्धता जनाउनु भयो ।
तालिममा अर्का सहभागी कर्ण विश्वकर्माले दलित समुदायका मुद्धाहरु विचैमा तुहिने र निश्कर्षमा पुग्न नसक्ने घटनाहरु भएको वताउनु भएको छ । उहाँले कालिकोट जिल्लामा दलित समुदाय माथि अहिले पनि सामाजिक भेदभाव तथा उत्पीडन व्यापक रहेको भन्दै पत्रकारहरुको कदम त्यतातिर कम चलेको प्रतिक्रिया दिनु भयो । उहाँले यो तालिमले त्यस्ता विषयहरु अव आफुले पाएको ज्ञानवाट सशक्त रुपमा उठाउने र लेख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यस्तै तालिममा सहभागी अधिकांश पत्रकारहरुले निश्चित विधागत विषयहरुको जिम्मा लिदै आफ्नो कलम सामाजिक रुपान्तरणका क्षेत्रमा चलाउने प्रतिवद्धता जनाएका छन ।
तालिमको समापनमा बोल्दै दलित महिला संघ लुम्बिनी प्रदेशको संयोजक निर्मला सुनारले दलित महिला संघ (फेडो) को उद्देश्यमा तालिमका सहभागीहरूले सहयोग पुगाउने अपेक्षा ब्यक्त गर्नु भयो ।
दलित महिला संथा (फेडो) कालिकोटको अध्यक्ष हजा सुनारले दलित महिला र सिमान्तकृत समुदायको पक्षमा पत्रकारहरुले आफ्नो सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सुझाव दिनु भयो ।
उहाँले दलित महिलाका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै अझै पनि आफ्नो यात्रा जारी रहने समेत प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
तालिमको प्रमुख प्रशिक्षक बरिस्ठ पत्रकार तथा लेखक वविता वस्नेत र प्रशिक्षक पत्रकार अमर सुनार रहनु भएको थियो ।