जनपत्रकार संगठन नेपालको १ नम्वर प्रदेश भेला सम्पन्न

३१ साउन,धरान । जनपत्रकार संगठन, नेपालको १ नम्बर प्रदेश भेला सम्पन्न भएको छ । संगठनका महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य आलोक नेम्वाङको अध्यक्षतामा सम्पन्न भेलाले आगामी असोजमा सम्मेलन गर्ने निर्णय गरेको छ ।

विप्लव नेतृत्वको नेकपा निकट पत्रकार संगलनले भदौ भरी प्रदेशभर १४ ओटै जिल्लाको जिल्ला सम्मेलन गर्ने र असोज ४ र ५ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला सम्मेलन गर्नका लागि तीन जना केन्दीय सदस्यलाई छुट्टा छुट्टै जिल्लाको जिम्मेवारी तोकेको छ ।

आलोक नेम्वाङ, प्रविन अधिकारी र सर्गम श्रेष्ठलाई जिल्ला सम्मेलन गर्ने जिम्मेवारी तोकिएको हो । भेलाले भ्रष्ट्राचारी, दलाली, कमिसन खोरहरुको भण्डाफोर गर्दै समाचार सम्प्रेषण गर्ने निर्णय समेत गरेको छ ।

भेलाका प्रमुख अतिथि समेत रहनु भएका नेकपाका केन्द्रीय सदस्य निर्मलले पत्रकारिता स्वतन्त्र हुन नसक्ने बताउनु भयो । उहाँले बर्गविभेद रहेसम्म पत्रकारिता कुनैपनि हालतामा स्वतन्त्र नहुने ठोकुवा गर्नु भयो ।

‘जहाँ बर्गले विभेद जन्माउछ, त्यही विभदबाट विचार बन्छ ।’ भेलालाई सम्बोधन गर्दै निर्मलले भन्नु भयो ‘विचार रहँदासम्म पत्रकारिता स्वतन्त्र हुन सक्दैन । त्यसैले वर्गसंघर्ष मार्फत वैैज्ञानिक समाजवाद स्थापना भए मात्र स्वातन्त्र पत्रकारिताको सुरुवात हुन्छ ।’
कार्यक्रममा बोल्दै जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मा ‘दर्शन’ले नेपालमा जनपक्षीय पत्रकारिताको अभाव रहेको बताउनु भयो । देशमा दलाल संसदीय व्यवस्थाले पत्रकारितामा समेत प्रभाव जमाएकाले दलालीकरणको अन्त्य गर्न जनपत्रकार संठगनको ठूलो भुमिका हुने उहाको भनाई छ ।

‘एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि प्रचार माध्ययको ठूलो भुमिका हुन्छ ।’ भेलालाई सम्बोधन गर्दै संयोजक दर्शनले भन्नु भयो ‘जनपत्रकार संगठनलाई प्रचार व्रिगेटका रुपमा अगाडी सारेर वैज्ञानिक समाजवादका लागि जनमत सृजना गर्ने हाम्रो लक्ष्य छ । त्यसमा तपाईहरु ससक्त ढङ्गले लाग्नुहोस् ।’

भेलामा संगठनका केन्द्रीय सदस्य शोभराज बराल, सुदर्शन राज पाण्डे र नेकपा सुनसरी जिल्ला सेक्रेटरी विवसको उपस्थिति रहेको थियो । भेलामा प्रदेशभर १४ जिल्लाका करिव २५ जना जनपक्षीय पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस